२०८३, आश्विन १९ गते

images

जनताको नजरमा सरकार ढलिसकेको छ : प्रचण्ड

जनताको नजरमा सरकार ढलिसकेको छ : प्रचण्ड

सोमवार, बैशाख २२ २०८२०२:४८
सोमवार, बैशाख २२ २०८२०२:४८
  • images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको असक्षमता र स्वार्थ समूहको नियन्त्रणप्रति कडा आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले एक महिनासम्म पनि गभर्नर नियुक्त गर्न नसक्नु सरकारको असफलता र घमण्डको पराकाष्टा भएको टिप्पणी गरे।

    'एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन,' उनले भने, 'दुई तिहाइको अहंकार त अब मैले हेर्दा बेलुन फुटिसकेको देख्छु।' उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै, राजनीतिक निर्णयहरूमा जनताको हितभन्दा स्वार्थ समूह र विचौलियाको प्रभाव बढिरहेको आरोप लगाए।

    प्रचण्डले संसदमा स्पष्ट रूपमा भने, 'प्राविधिक रूपमा त अहिले सरकार ढलेको छैन। तर जनताको मस्तिष्कमा हेर्ने हो भने यो सरकार नैतिक रूपमा ढलिसकेको छ।' उनका अनुसार यस्तो कार्यशैलीले न केवल सरकारको विश्वसनीयता गुमाउँछ, लोकतन्त्र नै जोखिममा पर्ने खतरा बढेको छ। 'सरकारको काम कारबाहीकै कारण लोकतन्त्रमाथि बाहिरीभन्दा भित्री खतरा बढ्दै गएको हो,' प्रचण्डले भने।

    प्रचण्डले सरकारलाई चेतावनी दिँदै भने, 'मैले यसअघि पनि खबरदारी गरेको थिएँ। सरकार जनताप्रति गैरजिम्मेवार देखिन्छ, तर स्वार्थ समूह र विचौलियाप्रति खुलेर समर्पित छ।' उनले सार्वजनिक संस्थानहरूमा चरम राजनीतिकरण, सेवाप्रवाहमा लापरवाही र नियुक्तिमा स्वच्छता नहुनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरे।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend