काठमाडौँ । तनहुँको खड्गदेवी मन्दिर बुधबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । पुरातात्विक महत्वको प्राचिनकालीन मन्दिर सञ्चालक समितिको बैठकले बुधबारदेखि सर्वसाधरणको दर्शनको लागी विधिवत रुपमा खुल्ला गरेको हो ।
खड्गदेवी मन्दिर संचालक समितिको बैठकले लामो समय देखि प्रयास गर्दै आएकोमा हाल आएर खुल्ला गर्ने निर्णयमा पुगिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आनन्दमान जोशीले बताए । करिव ६०० वर्ष भन्दा पुरानो यस मन्दिर जातिय सहिष्णुताको प्रतिक समेत मानिन्छ । यस मन्दिरमा कामी, मगर र बाहुन जातीका तिन पुजारीहरु समेत रहेका छन् ।
भगवान शिवजीले राजा मणीमुकुन्द सेनलाई दिएको तरबार राजा मुकुन्द सेनले एक ब्राहृमणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको र यस तरबारले नागको रुप लिएर घरको परिक्रमा गरिरहे पछि धार्मिक अनुष्ठान गर्ने कार्य गरिएको र नागले तरबारको रुप धारण गरि उडेर बन्दिपुर डाँडामा खसी उछिट्टिएर यस ठाउँमा भगवान शिवजीको सन्देश स्वरुप खड्गदेवीको रुपमा प्रकट भई स्थापना भएको धार्मिक किम्बदन्ती रहेको छ । यहाँका बन्दीपुरेहरुले इष्ट देवताको रुपमा पुजिने देवीको यस मन्दिर वर्षको ९ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो ।
केहि समय जमिन छोडेर हावामा सयर गरेपछि मन्दिरको दर्शन गर्दा सबल, सक्षम, कुशल नेता, प्रशासक र सत्कर्मी बन्न सक्ने आर्शिवाद पाईन्छ भन्ने धार्मिक विश्वास रहेको छ । विशेष गरि सेना, प्रहरी र फलाम सम्बन्धि कार्य गर्नेहरुको लागी मन्दिर दर्शन फलदायी हुने मन्दिरका पुजारी भरतमणी भट्टराईले बताए ।
मन्दिर दर्शनको लागी केवलकारचोकदेखि मन्दिरसम्म केवलकारमा सवार गरि सहज ढङ्गले दर्शनार्थीले देवीको दर्शन गर्न पाउनेछन् । विहान ७ बजे देखि वेलुका ७ बजेसम्म मन्दिर खुल्ला रहने अर्को मन्दिरका प्रमुख मगर खाँडे पुजारी राम कुमार आलेले बताउनु भएको छ ।

