काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भारतले पाकिस्तानविरुद्ध सञ्चालन गरेको सैन्य कारबाहीलाई आतंवादविरुद्धको उचित कदमको रूपमा समर्थन गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले उक्त धारणा व्यक्त गरेका हुन्।
‘हामी जहिले पनि आतंवादको विरोधमा उभिन्छौं,’ महतले भने, ‘भारतले गरेको कारबाहीलाई आतंवादविरुद्धको कदमको रूपमा हेरिएको छ, र यसलाई हामी जायज ठान्छौं।’
उनले थपे, ‘आतंवादलाई कसैले पनि प्रश्रय दिनु हुँदैन भन्ने पक्षमा हाम्रो पार्टी स्पष्ट छ। हामी सधैं आतंवादविरुद्धको दृढ नीति अवलम्बन गर्दै आएका छौं।’
महतले भारत र पाकिस्तानबीचको पछिल्लो तनावले पूर्ण युद्धको रूप नलिओस् भन्ने कांग्रेसको चाहना रहेको स्पष्ट पारे। उनले भने, ‘दुवै देशबीच सैन्य द्वन्द्व उत्पन्न हुनु दुःखद हुनेछ। समस्या समाधानका लागि कूटनीतिक उपाय अपनाइनुपर्छ भन्ने हाम्रो आग्रह हो।’
नेपाली कांग्रेसले यसरी आफ्नो शान्तिपूर्ण र आतंवादविरोधी नीति दोहोर्याएको छ भने क्षेत्रीय स्थायित्व र सम्वादमार्फत समस्या समाधानको पक्षमा रहनुपर्ने संकेत पनि गरेको छ।

