काठमाडौं । एनएलजी इनस्योरेन्स कम्पनी लिमिटेडले जेठ २९ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्केट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा २ % बोनस शेयर र कर प्रयोजनका लागि ०.१३ % नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लख ५७ हजार रुपैयाँ रहेको छ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार रुपैयाँ कायम हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

