काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच मंगलबार बालुवाटारमा भेट भएको छ । स्वास्थ्यमा समस्या देखिएको भन्दै संसद् बैठकमा राखिएको प्रश्नोत्तर कार्यक्रम नै स्थगित गरेका उनले वालुवाटारमै देउवासँग भेट गरेका हुन् ।
दुई जनाको भेट पश्चात गभर्नर सिफारिस समितिले बैठक बोलाएको छ । समिति गठन भएको लामो समयसम्म एउटा समेत बैठक बस्न नसकेको उक्त समितिले दुई अध्यक्षबीच भेटवार्ता भएसँगै बैठक बोलाएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको समितिको बैठक आज अपराह्न सिंहदरबारमा बस्ने भएको हो ।अहिले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा। पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति रहेको छ । गभर्नर बन्ने तरखरमा सिफारिस नेपाली कांग्रेसको तर्फबाट समितिका सदस्य डा.विश्व पौडेलले नै वैशाख २६ गते राजीनामा दिएर बसेका छन् ।
प्रधानमन्त्री ओली र देउवाबिच सोमबार साझ नै भेट्ने समय तय भएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो।भेट नभएपछि मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो।
सम्भवत ओलीले मंगलबार साँझ नै मन्त्रिपरिषद्को समेत बैठक बोलाउन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै गएसँगै सरकारको तीव्र रूपमा आलोचना चुलिएको छ । गभर्नर रिक्त रहेको दुई महिना हुन लाग्दा समेत सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गरेसँगै सरकार माथि नैतिकताको प्रश्न खडा भएको छ ।

