काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले तमोर जलाशययुक्त बहुउद्देशयीय जलविद्युत आयोजनामा जनतालाई शेयर दिएर अगाडी बढाउने बताएका छन् । जनताको लगानी सुनिश्चित गर्ने, नीजि क्षेत्रलाई नेतृत्व गर्न लगाउने र सरकारले सहयोग गरेर तमोर आयोजनामा लगानी सहजै जुटाउने र समयमै सम्पन्न गरेर नमूना आयोजनाको रुपमा विकास गरिने बताए ।
मन्त्री खड्काको संयोजनमा ऊर्जा मन्त्रालयमा तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनाका बारेमा महत्वपूर्ण छलफलका क्रममा मन्त्री खड्काले सो कुरा बताएका हुन् ।
७ सय ५६ मेगावाट क्षमताको तमोर बहुद्देशीय जलाशययुक्त परियोजनाबाट विद्युत उत्पादनसँगै सोही आयोजनाको तल्लो तटमा तमोर चिसाङ सिंचाई आयोजना निर्माणकालागि पूर्वी तराईका झापा, मोरङ र सुनसरी जिल्लाका करिब एक लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा सिंचाइ सुविधा पुर्याउन बहुद्देशीय आयोजनाको रुपमा अगाडी बढाउन सकिने बताइएको छ।
चिसाङको माध्यमबाट पानी वितरण हुने यो आयोजनाले रोजगारी सिर्जनाका साथै जल यातायात र पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको छ।
ताप्लेजुङ, तेह्रथुम र धनकुटाका प्रतिनिधिसभा सदस्यहरू, राष्ट्रिय योजना आयोगका सदस्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, मन्त्रालयका सचिवहरू, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा सम्बन्धित विभागका प्रतिनिधिहरू सहभागी रहेको छलफलमा ऊर्जा मन्त्री खड्काले विगतमा भएको कामको समीक्षा गर्दै आयोजनालाई नयाँ ढंगले कार्यान्वयनमा लैजान ठोस कार्ययोजना आवश्यक रहेको बताए ।
उनले भने, “बाँधको सुनिश्चितता नभएसम्म लगानीको गति बढाउनु व्यावहारिक होइन। अब सरकारले स्पष्ट नेतृत्व लिएर गम्भीरता देखाउनेछ।”
मन्त्री खड्काले सरकारी नेतृत्वमा अघि बढाइएका धेरै आयोजना १२–१४ वर्षसम्म अध्ययनकै नाममा रोकिएको र अर्बौं बजेट खर्चिए पनि उल्लेखनीय प्रगति हासिल गर्न नसकेको प्रति चिन्ता व्यक्त गरे । उनले निजी क्षेत्रलाई जिम्मेवारी दिन सकिने विकल्प पनि औंल्याउँदै भने, “काम नगर्ने तर लाइसेन्स ओगटेर बस्ने नियत अब सह्य हुँदैन। अब समयमै सकिने आधारमा सार्वजनिक–निजी साझेदारी मोडेलमा यस आयोजनाको निर्माण कार्य अगाडी बढाउन सकिने विकल्प समेत हामी सामु छ ।”
सरकारी निकायबीचको समन्वय अभावले धेरै आयोजनाहरू अलपत्र परेको उल्लेख गर्दै उनले विदेशी लगानीकर्ताको चासो बढिरहेको वर्तमान सन्दर्भमा ढिलो नगरी व्यवहारिक मोडेलमा अघि बढ्नुपर्नेमा जोड दिए ।
छलफलमा नेकपा एमालेका सांसद योगेश भट्टराई तमोर जस्तो आयोजनाले कोशी प्रदेशको मुहार फेर्ने भएकोले यो परियोजनालाई प्राथमिकतासाथ साथ आगामी बजेटमा समावेश गर्नुपर्ने बताए ।

