काठमाडौं । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरसँगको यात्रा अन्त्य भएको संकेत दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'यो अध्याय समाप्त भयो। कथा अझै लेखिँदैछ। सबैलाई धन्यवाद।'
यो भनाइले उनको सन् २०२५ मा समाप्त हुने सम्झौता नबढ्ने संकेत दिएको छ। रोनाल्डोले अल नासरका लागि १०५ खेलमा ९९ गोल गरेका थिए। उनले सोमबार अल फतेहविरुद्धको अन्तिम खेलमा एक गोल गर्दै क्लबका लागि आफ्नो अन्तिम प्रदर्शन गरे। तर टोली लिगमा तेस्रो स्थानमा सीमित रहँदै एएफसी च्याम्पियन्स लिगका लागि छनोट हुन सकेन।
रोनाल्डोको भविष्य अहिले विश्व फुटबलमा चर्चाको विषय बनेको छ। उनले आगामी वर्ष अमेरिकामा आयोजना हुने फिफा क्लब विश्वकप २०२५ मा सहभागी हुन सक्ने अनुमान गरिएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले रोनाल्डोको सम्भावित सहभागिताबारे आशा व्यक्त गरेका छन्।
उनी अमेरिकाको इन्टर मियामी (जहाँ लिओनल मेसी खेलिरहेका छन्) मा जोडिने चर्चामा पनि छन । आफ्नै देश पोर्चुगलको स्पोर्टिङ सीपी मा फर्कने सम्भावना पनि बलियो देखिन्छ। मोरक्कोको क्लब विडाड एसीले क्लब विश्वकपका लागि उनलाई अनुबन्ध गर्न इच्छुक रहेको जनाएको छ। साउदीको अल हिलाल, जसले क्लब विश्वकपको लागि छनोट पाइसकेको छ, पनि सम्भावित गन्तव्य बन्न सक्छ।
रोनाल्डोको लक्ष्य भने २०२६ को विश्वकपमा पोर्चुगलका लागि खेल्ने र १००० व्यवसायिक गोल पुर्याउने रहेको छ।

