काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरले सन् २०१६ पछि पहिलोपटक इन्डियन प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ। बिहीबार राति मल्लापुरस्थित महाराजा याधवृन्द सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै बैंग्लोर फाइनलमा प्रवेश गरेको हो।
टस जितेर फिल्डिङ रोजेको बैंग्लोरले पञ्जाबलाई १४.१ ओभरमा १०१ रनमै अलआउट गरेको थियो। पञ्जाबका लागि माक्युर्स स्टोइनिसले २६, प्रभिसमरन सिंह र अज्मातुल्लाह ओमारजाइले समान १८ रन बनाए। अन्य ब्याटर भने निराशजनक प्रदर्शनमा सीमित रहे।
बैंग्लोरका जस हेजलवुड र सुयस शर्माले समान ३ विकेट लिए। यस दयालले २ विकेट हात पारे भने भुवनेश्वर कुँवर र रोमारियो सेफर्डले एक–एक विकेट लिएका थिए। १०२ रनको लक्ष्य बैंग्लोरले १० ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो। ओपनर फिल साल्ट ५६ रनमा अविजित रहे भने कप्तान रजत पाटिदारले १५ रन बनाए। विराट कोहली १२ र मयंक अग्रवाल १९ रनमा आउट भएका थिए।
यसअघि सन् २०११ र २०१६ मा फाइनल खेलेको थियो, तर दुवैपटक उपविजेता बन्न पुगेको थियो। यसपटक भने टोलीले उपाधि जित्ने लक्ष्यसहित फाइनल यात्रा तय गरेको छ। पञ्जाब किंग्सलाई भने फाइनल पुग्न अझै एक मौका बाँकी छ। दोस्रो क्वालिफायरमा उसले आज शुक्रबार राति हुने एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। एलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बइ इन्डियन्स भिड्नेछन्।

