एजेन्सी । सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै बंगलादेशमा सुरु भएको विद्यार्थी आन्दोलन सरकारविरोधी प्रदर्शनमा परिणत भएको छ । आरक्षणको विरोधमा सुरु भएको प्रदर्शनले सरकारविरोधी आन्दोलनको रूप लिएको हो ।
प्रदर्शनको अगुवाइ गरिरहेका विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग्दै ‘सविनय अवज्ञा आन्दोलन’को घोषणा गरेका छन् ।
विद्यार्थीले बोलाएको ‘पूर्ण असहयोग आन्दोलन’ राजधानी ढाकापछि देशका अन्य क्षेत्रमा पनि फैलिएको बीबीसी बंग्लाले जनाएको छ । सिराजगञ्ज भन्ने ठाउँमासबैभन्दा धेरै मानिस मारिएको खबर छ । बंगलादेशी अधिकारीका अनुसार, उक्त क्षेत्रमा १८ जनाको मृत्यु पुष्टि भएको छ, जसमा १३ जना प्रहरी हुन् ।
आइतबार साँझसम्म सरकार समर्थक र सुरक्षाकर्मीबीच विभिन्न ठाउँमा झडप भएको थियो । विरोधमा रहेको विद्यार्थी समूहले नागरिसँग लिइने कर र अन्य बिल मिनाहा गर्न माग पनि गरेको छ । विद्यार्थीहरूले फ्याक्ट्री र सार्वजनिक यातायात बन्द गर्न आह्वान गरेका छन् ।

