काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज हङकङसँग खेल्दैछ । खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ ।नेपालले ३७ वर्षपछि हङकङसँग फुटबल खेल खेल्न लागेको हो ।
फिफा वरियतामा हङकङ नेपाल भन्दा अघि १५३औं स्थानमा छ । नेपाल १७५औं स्थानमा छ । नेपाल र हङकङबीच यसअघि भएको एक मात्र खेल बराबरीमा सकिएको थियो । सन् १९८८ मा काठमाडौंको दशरथ रंगशामा भएको एसियन कप छनोटको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।
एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले तयारीस्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

