काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अपिल कमिटीको निर्णयले ए डिभिजन फुटबलमा ठुलो मोड आएको छ। अपिल कमिटीले विभागीय टोली एपीएफ क्लबको पक्षमा फैसला सुनाएपछि एपीएफले ए डिभिजनको स्थान जोगाएको छ भने थ्री स्टार क्लब रेलिगेसनमा पर्ने निश्चित भएको छ।
थ्री स्टार क्लबले पछिल्लो ए डिभिजन लिगमा जावलाखेल युथ क्लबविरुद्ध भिसा अवधि सकिएका विदेशी खेलाडी खेलाएकोमा एपीएफले अनुशासन कमिटीमा उजुरी दिएको थियो।
अनुशासन कमिटीले थ्री स्टारलाई ५० हजार जरिवाना मात्र गरेको थियो। त्यसपछि एपीएफ अपिल कमिटीमा गएको थियो। लामो समयको प्रतिक्षापछि बिहीबार अपिल कमिटीले एपीएफको पक्षमा निर्णय गरेपछि तालिका फेरिएको हो।
अब थ्री स्टारले लिगको १३औं स्थानमा पुगेर खुमलटारसँगै बी डिभिजनमा घटुवा हुनुपर्नेछ। एपीएफ भने १२औं स्थानमा रहेर ए डिभिजनमा रहनेछ।
थ्री स्टारको जावलाखेलमाथिको १-० को जितको नतिजा उल्ट्याएर जावलाखेललाई तीन अंक दिइएपछि तालिका फेरिएको हो।एपीएफ क्लबले फिफा नियमानुसार फैसला आएको भन्दै स्वागत गरेको छ। थ्री स्टार क्लबले भने अहिले क्लबस्तरीय छलफल गरिरहेको जनाएको छ।

