काठमाडौं । इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउने कार्य तीव्र रूपमा अघि बढाइएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दिएको जानकारीअनुसार इजरायलबाट नेपाल फर्कन चाहने ८८५ जना नेपालीले आफ्नो विवरण टिपाएका छन्।
मन्त्री राणाले "जुन १७ देखि अनलाइन पोर्टलमार्फत दर्ता प्रक्रिया सुरु गरिएको" बताउँदै थप सुविधा स्वरूप ‘श्रम संसार’ मोबाइल एप चाँडै नागरिक एपसँग एकीकृत गर्दै सार्वजनिक गरिने जानकारी दिइन्। उक्त एपमार्फत विश्वभर रहेका नेपालीहरुले आफ्ना जानकारी अद्यावधिक गर्न सक्नेछन्।
इरानबाट उद्धार: ११ नेपाली भारत हुँदै स्वदेश फिर्ता
मन्त्री राणाका अनुसार, इरानमा रहेका १६ जना नेपालीको उद्धार प्रक्रिया भारत सरकारको सहयोगमा सुरु गरिएको छ। तीमध्ये ११ जना हाल इरानको मसाद क्षेत्रमा पुगी भारत आउन तयारी अवस्थामा छन्।
“भोलिसम्म ती ११ जना भारत आइपुग्नेछन्,” मन्त्री राणाले बैठकमा भनिन्। बाँकी ५ जना भने अध्यागमन कानुनको कारणले थुनामा रहेका छन्। उनीहरूलाई फर्काउनका लागि आवश्यक कागजी प्रक्रिया नेपाली दूतावास, दोहा (कतार) मार्फत अघि बढाइएको छ।
सरकारी पहललाई तीव्रता
परराष्ट्र मन्त्रालयले संकटग्रस्त क्षेत्रमा रहेका नेपालीको सुरक्षा र स्वदेश फिर्तीलाई प्राथमिकतामा राख्दै कूटनीतिक पहललाई तीव्रता दिएको छ। इरानको जस्तो जटिल अवस्थाबाट उद्धारमा भारत सरकार र त्यहाँको भारतीय दूतावासको सहयोग उल्लेखनीय रहेको मन्त्री राणाले बताइन्।

