२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • क्यानमा आन्तरिक खटपटः उपाध्यक्षसहित ८ सदस्यको...

क्यानमा आन्तरिक खटपटः उपाध्यक्षसहित ८ सदस्यको असन्तुष्टि, अध्यक्ष चन्द भन्छन् – ‘सुझावका रूपमा लिएको छु’

क्यानमा आन्तरिक खटपटः उपाध्यक्षसहित ८ सदस्यको असन्तुष्टि, अध्यक्ष चन्द भन्छन् – ‘सुझावका रूपमा लिएको छु’

सीएनएन खबर
बुधवार, आषाढ ११ २०८२०२:२०
सीएनएन खबर
बुधवार, आषाढ ११ २०८२०२:२०
  • images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) भित्र नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि चुलिएको छ। उपाध्यक्ष रोशन सिंहसहित आठ जना बोर्ड सदस्यले अध्यक्ष चतुरबहादुर चन्दलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाउँदै हालको निर्णय प्रक्रियामा पारदर्शिता नदेखिएको र संस्थागत विधि–विधानको उपेक्षा भएको आरोप लगाएका छन्।

    सिंहसहित हस्ताक्षरकर्ता सदस्यहरूमा दुर्गाराज पाठक, प्रदीप मजगैंया, विक्रम विष्ट, माधव कर्माचार्य, विरेन्द्र चन्द, अर्जुन पौडेल र जयन्ती भट्ट छन्। उनीहरूले क्यानको पछिल्लो गतिविधिमा सामूहिक निर्णयको सट्टा ‘एकल व्यक्ति केन्द्रित प्रवृत्ति’ मौलाएको गुनासो गरेका छन्।

    ध्यानाकर्षण पत्रमा नेपालको क्रिकेट विकासका प्रयासहरू सकारात्मक भए तापनि ती प्रयासहरू व्यक्तिगत स्वार्थबाट निर्देशित भइरहेको दाबी गरिएको छ।

    यसप्रति प्रतिक्रिया दिँदै अध्यक्ष चन्दले भने, “उहाँहरूको गुनासोलाई सुझावकै रूपमा लिएका छौं। केही कमजोरीहरू सुधार गर्न हामी तत्पर छौं।” उनले भने, “सामूहिक छलफलमार्फत सुधार गर्ने प्रतिबद्धता लिएका छौं।”

    ध्यानाकर्षण पत्रमा नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको तयारी भइरहँदा पहिलो संस्करणको आर्थिक विवरण अझै बोर्डले नपाएको भन्दै चासो व्यक्त गरिएको छ। साथै, त्यो विवरण बोर्डबाट अनुमोदनसमेत नभएको बताइएको छ।

    यस्तै, वेस्ट इन्डिजसँग यूएईमा प्रस्तावित सिरिजको जानकारी मिडियामार्फत मात्र प्राप्त भएको भन्दै प्रक्रिया उल्लंघन गरिएको गुनासो पनि गरिएको छ। अध्यक्ष चन्दका अनुसार वेस्ट इन्डिज क्रिकेट बोर्डकै आग्रहमा सिरिजसम्बन्धी विवरण गोप्य राखिएको थियो।

    पत्रमा उल्लेख छ, “क्यान कुनै एक वा दुई जनाको संस्था होइन। यसले विधि, विधान र विनियमको पालना गर्नुपर्ने हुन्छ। हाल देखिएको कार्यशैलीले संस्था अपारदर्शी बन्दै गएको छ।” साथै, यस्तो अवस्था निरन्तर रहिरहे आगामी जटिलताप्रति आफुहरू जिम्मेवार नहुने चेतावनी पनि दिइएको छ।

    पत्रमा ‘एक–दुई व्यक्ति’ भनेर उल्लेख गरिए पनि ती को हुन् भन्ने स्पष्ट छैन। तर, सचिव पारस खड्कातर्फ इशारा गरिएको हुन सक्ने अनुमान गरिएको छ। खड्का हाल देशबाहिर रहेको र उनी व्यक्तिगत कारणले बाहिरिएको अध्यक्ष चन्दले जानकारी दिएका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend