काठमाडौं । काठमाडौँ महानगरपालिकाले निर्धारित मितिमा बजेट ल्याउनबाट चुकेपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाह (बालेन)को ध्यानाकर्षण गराएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले अनौपचारिक बैठक राखेरै पटक(पटक दबाब दिँदा पनि मेयर बालेनले बेवास्ता गरेको समितिको आरोप छ ।
उनले आफ्नो नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक राख्नसमेत पहल नगरेपछि पहिलोपटक महानगर समयमा बजेट ल्याउनबाट चुकेको हो ।
मंगलबार राति अनौपचारिक रुपमा बसेको बजेट तर्जुमा समितिले मेयर शाहलाई अझै पनि बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गरेको थियो भने आज औपचारिकरुपमा ध्यानाकर्षण गराएको छ । उपमेयरको संयोजकत्वमा बन्ने बजेट तर्जुमा समितिमा प्रमुख प्रशासकीय अधिकृत, योजना महाशाखा प्रमुख लगायत सदस्य हुन्छन् ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट सीमा निर्धारण नहुँदा महानगरपालिकाद्वारा सञ्चालित विकास निर्माण, कर्मचारीको पारिश्रमिक, जेष्ठ नागरिकले प्राप्त गर्ने भत्ता, तथा काठमाडौँ महानगरपालिकाको फोहोरमैला संकलन तथा विर्सजनमा समेत साउन १ गतेबाट बजेट अभावले प्रत्यक्ष असर पर्ने पर्ने समितिको ठम्याइ छ ।

