२०८३, आश्विन २० गते

images

लगातार चौथो दिन नेप्से उकालो, ९ अर्ब ७४ करोडको कारोबार

लगातार चौथो दिन नेप्से उकालो, ९ अर्ब ७४ करोडको कारोबार

बुधवार, आषाढ १८ २०८२०३:३४
बुधवार, आषाढ १८ २०८२०३:३४
  • images

    काठमाडौं । देशको शेयर बजार नेप्से परिसूचक बुधबार पनि उकालो लागेको छ। पछिल्ला तीन दिनदेखि हरियाली देखाउँदै आएको नेप्सेले आज पनि त्यो क्रमलाई निरन्तरता दिँदै ३४.४२ अंकको वृद्धि गरेको छ। यससँगै नेप्से २६९४.८२ विन्दुमा पुगेर बन्द भएको छ।

    साथै, सेन्सेटिभ इन्डेक्स ५.५२ अंक, फ्लोट इन्डेक्स २.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०९ अंकले बढेका छन्। बजारको समग्र उत्साहसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ।

    बुधबार दिनभरिमा ३१७ स्टकका ८९ हजार ४६८ पटकको कारोबारमा ३ करोड १ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ। यसबाट कुल कारोबार रकम ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन मंगलबारको तुलनामा कारोबार रकममा झण्डै २ अर्ब ७० करोड रुपैयाँको वृद्धि भएको हो।

    सर्किट लेभलमै कारोबार भएका स्टकहरू

    आज ग्रीन डेभलपमेन्ट बैंक र खानी खोला हाइड्रोपावरका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। नेपाल इन्स्योरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले बढ्दा, गुराँस लघुवित्तको शेयर पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

    त्यस्तै, आईसीएफसी फाइनान्स लिमिटेडको डिबेञ्चरको मूल्य ३.७३ प्रतिशतले घट्दै घाटा ब्यहोरेको छ।

    सबै उपसमूहमा हरियाली

    बुधबार १३ वटै उपसमूहको परिसूचक हरियाली देखिएको छ। जीवन बीमा उपसमूहमा २.८३ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक पनि २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। बैंकिङ, वित्त, लगानी र व्यापार उपसमूहका परिसूचकमा १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।

    सबैभन्दा धेरै कारोबार

    कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अग्रस्थानमा रह्यो। कम्पनीको ५५ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो। साहस उर्जाको करिब ४९ करोड रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोडभन्दा बढीको कारोबार भएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend