काठमाडौं । कोरियाली कम्पनी जी फिलोस लिमिटेडले नेपालमा हरित (ग्रीन) हाइड्रोजन उत्पादन र फ्युल सेल प्लान्ट स्थापना गर्ने प्रस्ताव गरेको छ। कम्पनीले २० मेगावाट क्षमताको पाइलट प्लान्ट स्थापना गर्ने लक्ष्यसहित करिब ७ अर्ब रुपैयाँ लगानीको प्रस्ताव लगानी बोर्डमा पेश गरेको हो।
बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार जी फिलोसले २०८२ वैशाख १५ गते पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको र बोर्डको ६३औं बैठकले विस्तृत सम्भाव्यता अध्ययनको अनुमति दिएको छ। विस्तृत अध्ययनमा जलविद्युत स्रोत पर्याप्त छ कि छैन, आन्तरिक र क्षेत्रीय बजारमा माग, निर्यात सम्भाव्यता, लगानी, खर्च, पर्यावरणीय तथा सामाजिक प्रभाव जस्ता विषय समेटिनेछ।
कम्पनीले नेपालको जलविद्युत स्रोतबाट उत्पादित अतिरिक्त विद्युत प्रयोग गरी इलेक्ट्रोलाइसिस विधिबाट हरित हाइड्रोजन उत्पादन गर्ने योजना बनाएको छ। पानीलाई इलेक्ट्रोलाइजरमार्फत हाइड्रोजन र अक्सिजनमा विभाजन गरी हाइड्रोजन उत्पादन गरिनेछ। परियोजना विस्तारयोग्य मोडेलमा तयार गरिएको छ र प्रारम्भमा २० मेगावाट क्षमताबाट उत्पादन थाल्ने योजना रहेको उपाध्यायले बताए।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्ने र स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने घोषणा गरिसकेको छ। यस्तै, सरकारले ग्रीन हाइड्रोजन प्रविधिमा आधारित युरिया मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। प्रारम्भिक प्रतिवेदनअनुसार कारखानाको निर्माणमा २६ देखि ३२ अर्ब रुपैयाँसम्म खर्च हुने अनुमान छ, जसबाट वार्षिक २ लाख मेट्रिक टन युरिया मल उत्पादन गर्ने लक्ष्य राखिएको छ।
काठमाडौं विश्वविद्यालय ग्रीन हाइड्रोजन ल्याब प्रमुख डा. विराजसिंह थापाले नेपाल कम लागतमा हरित हाइड्रोजन उत्पादन गर्ने देश बन्ने सम्भावना रहेको बताए। 'कम्तीमा आगामी ३० वर्षसम्म ग्रीन हाइड्रोजनको विश्वव्यापी माग उच्च रहने देखिन्छ,' उनले भने, “अहिले नै तयारी गरेर निर्यात थाल्न सके अर्थतन्त्रमा ठूलो योगदान पुग्नेछ।'

