काठमाडौं । कप्तान सावित्रा भण्डारी (साम्बा)को ह्याट्रिकसहित नेपालले एएफसी महिला एसियन कप २०२६ छनोटको दोस्रो खेलमा श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै समूह ‘एफ’ मा लगातार दोस्रो जित निकाल्न सफल भएको छ।
तास्केन्तस्थित बुन्योदकोर स्टेडियममा बुधबार भएको खेलमा सावित्राले २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। योसँगै राष्ट्रिय टिमका लागि उनका कुल गोल संख्या ६४ पुगेको छ।
नेपालका लागि गीता रानाले दुई गोल गर्दा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान एक–एक गोल गरे। खेलको सुरुवातदेखि नै आक्रमक देखिएको नेपालले पहिलो हाफमा नै ४–० को अग्रता बनाएको थियो। गीता रानाले ७औं मिनेटमा कर्नरमार्फत हेड गोल गर्दै खाता खोलेकी थिइन्। त्यसपछि सावित्राले लगातार तीन गोल गर्दै नेपालको पकड बलियो बनाइन्।
दोस्रो हाफमा पनि नेपालले खेलमा पूर्ण नियन्त्रण कायम राख्यो। गीता रानाले पेनाल्टीमार्फत दोस्रो गोल गरिन् भने निशा, रेखा र पूजाले गोल थप्दै स्कोर ८–० पुर्याए।
यसअघि नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो। लगातार दुई जितपछि नेपाल समूह ‘एफ’ मा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ।
अब नेपालले शनिबार घरेलु टोली उज्बेकिस्तानसँग समूह चरणको अन्तिम तथा निर्णायक खेल खेल्नेछ। उज्बेकिस्तानलाई हराउन सके नेपालले एएफसी महिला एसियन कप २०२६ मा स्थान सुरक्षित गर्नेछ।
श्रीलंकाका लागि भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा उज्बेकिस्तानसँग १०–० ले पराजित भएको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।
प्रतियोगितामा ८ समूहमा विभाजित ३४ टिम सहभागी छन्। समूह विजेताहरू मात्र एएफसी महिला एसियन कप २०२६ (अष्ट्रेलिया) मा स्थान बनाउन सक्नेछन्। आयोजक अष्ट्रेलिया, चीन, दक्षिण कोरिया र जापान भने पहिल्यै छनोट भइसकेका छन्।

