काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हुम्ला प्रस्थान गर्ने तयारीमा रहेका बेला प्रतिकूल मौसमका कारण सुर्खेतमै रोकिएका छन्। कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा नेपाली सेनाले निर्माण सम्पन्न गरेको बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री आइतबार बिहान सुर्खेत पुगेका थिए।
हुम्लाको सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने कर्णाली करिडोरमा निर्मित उक्त बेलीब्रिज चीन–नेपाल–भारतलाई जोड्ने ‘स्टाटेजिक लिंक’ मानिएको छ। उद्घाटनका लागि प्रधानमन्त्रीको टोली तयारीसहित सुर्खेत विमानस्थलमा ओर्लिएको थियो। तर खराब मौसमका कारण हेलिकोप्टर उडान असम्भव भएपछि ओली नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वार्टर नेवारेमा रोकिएका हुन्।
सेनाका अनुसार मौसममा सुधार भएलगत्तै प्रधानमन्त्री ओलीलाई हुम्ला लैजाने तयारी छ। उता, चुवाखोला क्षेत्रमा उद्घाटन कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेको जनाइएको छ।

