काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका तीन प्रस्तावित न्यायाधीश तथा न्याय परिषद्को सदस्यको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
सोमबार बसेको समितिको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि अनुमोदन गरेको हो। यस्तै, समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नामसमेत अनुमोदन गरेको छ।
समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रस्तावित व्यक्तिहरूको अवधारणा, सोच तथा प्राप्त उजुरीहरूका सम्बन्धमा विस्तृत छलफलपछि सर्वसम्मत रूपमा नाम अनुमोदन गरिएको हो।
यसअघि संसदीय सुनुवाइ समितिले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियालाई न्यायाधीश तथा संवैधानिक निकायहरूमा हुने नियुक्ति प्रक्रियामा समावेशिता सुनिश्चित गर्न सुझाव दिएको थियो। मन्त्री चौरसियाले संसद्का सुझाव कार्यान्वयन गर्दै समावेशीता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

