काठमाडौं । खोटाङ जिल्लामा विद्यालय भवन निर्माणमा अनियमितता गरेको अभियोगमा तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले बिहीबार जिल्ला शिक्षा अधिकारी चापागाईं, तत्कालीन शिक्षा अधिकारी गणेश प्रसाद भट्टराई, लेखापाल सुरेश कुमार श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप कुमार राई र चर्चबहादुर विश्वकर्मा, भवन निर्माणकर्ता बबेन्द्र राई लगायतलाई प्रतिवादी बनाउँदै ३० लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको हो।
उनीहरूलाई खोटाङको दिप्रङ चुइचुइम्मा गाउँपालिका–४ स्थित जनता उच्च माध्यमिक विद्यालयको चारकोठे आरसीसी भवन निर्माणमा गम्भीर अनियमितता गरेको आरोप लागेको छ। उक्त भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले ३२ लाख १० हजार ८६४ रुपैयाँ अनुदान दिनेगरी सम्झौता गरेको थियो।
तर, सम्झौता विपरीत गुणस्तरहीन सामग्री प्रयोग गरी अपूर्ण निर्माण कार्य भएको, निर्माण सम्पन्न नहुँदै उपयोग हुन नसक्ने अवस्थामा पुर्याएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।
अख्तियारका अनुसार निर्माण कार्यको गुणस्तर न्यूनस्तरको मात्र नभई संरचनागत रूपमा पनि विद्यालय प्रयोजनका लागि प्रयोग गर्न असक्षम देखिएको छ। यसरी सार्वजनिक स्रोतको दुरुपयोग गरेकाले उनीहरूविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

