काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसंख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् ।
विश्व जनसंख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको गति सँगै हुनुपर्ने बताउँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रूपमा लिनुपर्ने बताए ।
'मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसंख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदम चाल्नुपर्छ,' प्रधानमन्त्री ओलीले भने, 'सृष्टिको सिर्जनाका लागि मानव जाति जति मूल्यवान अर्काे छैन । कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरू यो धन्दा छोड । जनसंख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनासका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन । जनसांख्यिक असन्तुलनलाई कायम रहन दिनु हुँदैन ।'
प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्मलिन आग्रह गरे । सन्तानले डाँडाकाढा ढाकून् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएकातर्फ चिन्ता व्यक्त गर्दै उनले विकास भएका देशमा पनि जनसंख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएकाले जनसंख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्ने बताए ।

