काठमाडौँ । केही समय अघि स्वकीय सचिवले घुस मागेको भन्दै विवादमा आएको सामान्य प्रशासनमन्त्री आफैले घुस मागेको अडियो सार्वजनिक भएको छ ।
स्वकीयपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस डिल गरेको पाइएको हो । उनले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ । मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुसको डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । जसमा उनले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई पनि पोलेका छन् ।
अडियोसहितको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरिसकेको छ । करिब १० मिनेट लामो अडियो संवादमा मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनको कुरा गरिरहेका सुनिन्छन् । यो डिल मन्त्रीनिवासमा भएको आशंका गरिएको छ । पुरानै चिनजान र पटक–पटकको लेनदेनजस्तो गरी मन्त्री र बिचौलियाबिच अनौपचारिक संवाद अडियोमा सुनिन्छ ।
अडियोमा एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्नका बिचौलियाले २५ लाख घुसको प्रस्ताव गरेका छन् । संवाद भएकै १५ लाख र भोलिपल्ट थप १० दिने अडियोमा सुनिन्छ । अडियो संवादमा आएका सन्दर्भ र घटनाक्रमले यो ‘डिल’ गत २८ पुसमा भएको देखिन्छ । किनभने बिचौलियासँगै रहेकी महिलाले भोलिपल्ट श्रीस्वस्थानी व्रतकथा प्रारम्भ हुने र त्यस दिन आफ्नो छोराको जन्मदिन रहेको बताएकी छिन् । त्यस्तै, भोलिपल्ट आयोगमा नियुक्ति हुने र त्यही दिन शपथको तयारी पनि भइरहेको उनले बोलेको अडियोमा सुनिन्छ । नभन्दै २९ पुसमा भूमि व्यवस्था मन्त्रालयले ७० जिल्लामा आयोग अध्यक्ष नियुक्त गरेको थियो । यद्यपि, पुनले भने नियुक्ति पाएनन् । बिचौलियाले मन्त्री गुप्तालाई भूमिसुधारमन्त्रीसँग भनेर काम गराइदिन पटक–पटक आग्रह गरेका छन् ।
यही १० असारमा ‘घुस–रिसवत लिने विभागीय मन्त्रीलाई कारबाही गरिपाऊँ’ भन्ने विषयसहित अख्तियारमा उजुरी परेको थियो । दुईवटा विषय जोडेर छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको छ । त्यसमा कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिने र यही भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्तिको विषय छ । मालपोत कार्यालय प्रमुखको थमौतीका लागि मन्त्री गुप्ताले ५३ लाख रुपैयाँ लिएको दाबी उजुरीमा छ ।
निवेदकले बुझाएको पैसाको नम्बर र नोट तस्बिरसहित उजुरी गरेका छन् । ‘...संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्की जिल्लास्थित तत्कालीन मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग भनी ५३ लाख रुपैयाँ लिएको पैसाको नम्बर र नोटको तस्बिर यसैसाथ संलग्न छ,’ अख्तियारमा परेको उजुरीमा उल्लेख छ ।
उही घरजग्गा व्यवसायीबाट मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउनका लागि २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो प्राप्त भएको पनि उजुरीमा खुलाइएको छ । यसमा पनि पैसाको नोट नम्बरसहित उजुरीकर्ताले अख्तियारमा उजुरी गरेका छन् । उजुरीकर्ताले दुवै डिलमा पैसाको तस्बिर र नोट नम्बर उल्लिखित डायरी र अडियोसमेत उजुरीसाथ संलग्न गरेर अख्तियारमा बुझाएका हुन् । ‘यसबारे अनुसन्धान गरी मन्त्री गुप्तालाई तत्काल नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार तत्काल कारबाहीका लागि अनुरोध छ,’ उजुरीमा छ ।
त्यसैबिच मन्त्रीको घुस प्रकरणमा उजुरी परेपछि अख्तियारले छानबिन नै थालेको छ । प्राप्त उजुरी प्रमाणहरूका आधारमा प्रारम्भिक छानबिन थालिएको अख्तियार स्रोतले बतायो । ‘उजुरीमा उल्लिखित विषयमाथि भेरिफाई गर्दै र्छौँ,’ अख्तियार स्रोत भन्छ, ‘अहिले नै यकिन गर्न सकिने अवस्था छैन ।’
पोखरा महानगरपालिका– ३२ का खेमबहादुर पुन एमाले गण्डकी प्रदेश कमिटी सदस्य हुन् । पुन ०७४ र ०७९ को स्थानीय तह निर्वाचनमा पोखरा– ३२ को वडाध्यक्षमा पराजित भएका थिए । शुक्रबार राति नयाँ पत्रिकाले टेलिफोन सम्पर्क गर्दा उनले आफूले घुस नदिएको दाबी गरे । भूमि आयोगको अध्यक्ष नियुक्तिका लागि पैसा दिएको भन्ने कुरा बाहिर आएको छ, त्यो के भएको हो भन्ने प्रश्नमा उनले भने, ‘कसले भन्यो त्यो मैले पैसा दिएको भन्या भनेर ।’ हाल अडियोसहित बाहिर आएको छ निभन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कहाँ मैले दिएको भनेको छ, नचाहिँदो कुरा नगर्नुस् तपाईंहरूले ।’
कहाँ हो त्यो सम्बन्धित ठाउँ ?
अडियो संवादमा मन्त्री गुप्ताले जिल्ला भूमिसुधार कार्यालय कास्कीमा प्रमुखको थमौतीका लागि लिने रकम (५३ लाख) अर्को दिन सम्बन्धित ठाउँमा पु¥याउने भनेर अर्को शक्तिकेन्द्र पनि जोडेका छन् । बिचौलियाले ‘सत्यनारायण हाम्रो गुरुजी हो । मन्त्रीज्यू म मगाइदिन्छु । र तपाईं राख्नू’ भनेका छन् । जवाफमा मन्त्री गुप्ताले भनेका छन्, ‘राख्ने होइन, भोलि बिहानै दिएर पठाउनुपर्छ । सम्बन्धित ठाउँमा पु¥याइदिन्छु ।’ दुवै मन्त्री एमाले नेता हुन् । गुप्ताले सम्बन्धित ठाउँ भनेर सरकारको, पार्टी नेतृत्व वा अन्य कुनै शक्तिकेन्द्रतिर इसारा गरेको स्पष्ट छ, तर कुन भन्ने जवाफ छैन । तर, बिचौलियाले एक ठाउँ ‘बा’ भनेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको पनि प्रसंग निकालेका छन् ।
मन्त्री गुप्ताले पोले–बलरामले पैसा खाइसक्यो, काम गर्दैन
२५ लाखको घुस डिलसम्बन्धी अडियोमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई समेत पोलेका छन् । मन्त्री अधिकारीले पैसा (घुस) खाइसकेको दाबी गरेका छन् ।
अडियोमा बिचौलियाले मन्त्री गुप्तालाई आग्रह गर्दै भन्छन्, ‘सुन्नु न मन्त्रीज्यू, त्यो बलराम (भूमि व्यवस्थामन्त्री बलराम अधिकारी)लाई भनम् न । बरु, त्यो २० म बुझाइदिउँला के खेम (खेमबहादुर पुन)का लागि भोलि । फस्र्ट आवरमै बुझाइदिन्छु त्यो पनि । भन्दिनु त बलरामलाई ।’ (पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि यो प्रस्ताव गरिएको बुझिन्छ ।)
जवाफमा मन्त्री गुप्ता भन्छन्, ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले (काम) गर्दैन ।’ (गुप्ताले कास्की मालपोतका तत्कालीन प्रमुखको सरुवाका विषयमा यो कुरा गरेको अनुमान गर्न सकिन्छ ।) बिचौलियाले त्यो विषयमा होइन, भूमि आयोगमा नियुक्तिका सन्दर्भमा कुरा गरेको भन्दै गुप्तासँग भन्छन्, ‘त्यो होइन क्या, आयोगको कुरा गरिराको छु ।’
त्यसपछि पनि पटकपटक पुनलाई नियुक्ति गर्न मन्त्री अधिकारीलाई भनिदिन आग्रह गरेको सुनिन्छ । एकपटकको जवाफमा मन्त्री गुप्ता भन्छन्, ‘अब अहिले मन्त्रालयमा छ, यहाँ (निवास) हुन्थ्यो भने आइहाल्थ्यो, तीनपाने रक्सी खान ।’
नयाँ पत्रिकाको सहयोगमा

