काठमाडौं । साफ यु–२० महिला च्याम्पियनसिप अन्तर्गत आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३–२ गोलले पराजित भएको छ। ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा सम्पन्न खेलमा नेपाल इन्जुरी समयमा गोल खान पुग्दै हार्न बाध्य भयो।
खेलको १३औँ मिनेटमा सिन्हा जहान शिखाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्। ३६औँ मिनेटमा सागोरिका श्रीमती त्रिस्नाले नेपाली गोलकिपर सुजाता तामाङको गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गरिन्।
दोस्रो हाफको सुरुवातमै नेपालकी सिम्रन राई र बंगलादेशकी सागोरिकाबीच झगडा हुँदा दुवै खेलाडीलाई रातो कार्ड दिइयो, जसले दुवै टोलीलाई १०–१० खेलाडीमा सीमित गर्यो।
५२औँ मिनेटमा नेपालले पेनाल्टी पाउँदै खेलमा फर्कने संकेत गर्यो। अनिषा राईले पेनाल्टीमार्फत गोल गर्दै स्कोर २–१ बनाइन्।
८५औँ मिनेटमा पूर्णिमा राईको क्रसमा मिना देउवाले गोल गर्दै नेपाललाई २–२ को बराबरीमा ल्याइन्। खेल थप रोमाञ्चक बन्दै गइरहेको अवस्थामा इन्जुरी समयको ८औँ मिनेटमा श्रीमती त्रिस्नाले निर्णायक गोल गर्दै बंगलादेशलाई ३–२ को महत्त्वपूर्ण जित दिलाइन्।
चार टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन ढाँचामा भइरहेको छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो। अब तेस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ, जसलाई बंगलादेशले ९–१ ले हराएको थियो।
नेपालको प्रदर्शनले पुनरागमन क्षमताको संकेत गरे पनि अन्तिम समयको असावधानीले महत्वपूर्ण अंक गुमाउनु पर्यो। अब बाँकी खेलहरूमा जित निकाल्दै नेपालले फाइनल प्रवेशको सम्भावना जीवित राख्नुपर्नेछ।

