काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकको ऊर्जा क्षेत्रको विकास समयको माग भएको भन्दै कसैले रोकेर रोक्न नसक्ने स्पष्ट पारेका छन् । काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खड्काले ऊर्जा क्षेत्रसँग सम्बन्धित विधेयकको विषयमा अनावश्यक डर नमान्न आग्रह गरे।
मन्त्री खड्काले 'ऐन ल्याउनै हुँदैन' भन्ने सोच गलत भएको भन्दै, ल्याइएका कानुनहरू आवश्यक परेमा संशोधन र परिमार्जन गरेर अगाडि बढ्न सकिने बताए। देशको हितअनुकूल कानुन निर्माण भइरहेको भन्दै उनले आत्तिनुपर्ने कुनै कारण नरहेको उल्लेख गरे।
आरसीओडी (रिजाभ्ड कमर्सियल अपरेसन डेट) सम्बन्धी समस्या रहेको स्वीकार गर्दै मन्त्री खड्काले यसको समाधानका लागि परियोजनाको अवस्थाअनुसार समय थप गर्ने निर्णय गर्न समिति गठन गरिएको जानकारी दिए। साथै, भूमि प्राप्तिमा समस्या आए कानुनमै सुधार गरेर अगाडि बढ्ने धारणा राखे।
उनले २८ हजार ५ सय मेगावाट क्षमताको रोडम्याप कार्यान्वयन गर्न सके लाखौं नेपालीले स्वदेशमै रोजगारी पाउने उल्लेख गर्दै विकास अवरुद्ध नहुने विश्वास व्यक्त गरे। ऊर्जा आयोजनाका आईपीओ रोक्न कुनै आवश्यक नरहेको पनि मन्त्री खड्काको भनाइ छ। सरकार ऊर्जा क्षेत्रको विकासमा खुला र प्रतिबद्ध रहेको उनले प्रस्ट पारे।

