काठमाडौं । निःसन्तान दम्पतीलाई सन्तान दिलाउने नाममा १८ वर्षमुनिका किशोरीहरुको डिम्ब( Egg) गैरकानुनी रूपमा निकालेर बेचबिखन गरिने जघन्य कार्य सार्वजनिक भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त अनुसन्धानमा यस्तो अवैध कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरिएको छ। ती सबै 'होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रा.लि.' काठमाडौंसँग सम्बन्धित रहेको जनाइएको छ।
अनुसन्धानका क्रममा १५–१६ हजार रुपैयाँ दिने प्रलोभनमा किशोरीहरूलाई ल्याइने र ९–१० दिनसम्म हर्मोन इन्जेक्सन दिएर सानो शल्यक्रियामार्फत डिम्ब निकालिने पुष्टि भएको छ। बिचौलियाहरूलाई प्रतिव्यक्ति ३०–३५ हजार रुपैयाँसम्म दिइने पनि खुलासा भएको छ।
निकालिएका डिम्बहरू सुरक्षित रूपमा संरक्षित गरिन्थ्यो। प्रारम्भिक रूपमा यो मुद्दा मानव अंग तस्करीका रूपमा हेरे पनि सरकारी वकिलको रायमा डिम्ब ‘शरीरको कोष’ (Tissue) मात्र भएकाले मानव अंगको परिभाषामा नपर्ने भनिएको छ। त्यसैले अनुसन्धान बालबालिका सम्बन्धी ऐनअनुसार अघि बढाइएको हो।
हाल पक्राउ परेकाहरूलाई अदालतको आदेशमा हाजिर जमानीमा छाडिएको र उनीहरू प्रहरीसमक्ष नियमित उपस्थित भइरहेको सीआईबी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिएका छन्।
नेपालमा शुक्रकिट संकलन तथा भण्डारणबारे कानुन स्पष्ट भए पनि डिम्ब दान सम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुनुका कारण यस्तो गैरकानुनी कार्य मौलाएको भन्दै प्रहरी अधिकारीहरूले चासो व्यक्त गरेका छन्। खापुङका अनुसार, उमेर पुगेकाले स्वेच्छाले डिम्ब दिनु अपराध होइन, तर नाबालिगलाई जबरजस्ती वा लोभ देखाएर यस्तो कार्य गरिनु गम्भीर आपराधिक कृत्य हो।

