काठमाडौं । सोमबारको सामान्य करेक्सनपछि नेपाली शेयर बजार मंगलबार पुनः हरियालीमै फर्किएको छ। सोमबार नाफा बुक गर्न खोज्ने ट्रेडरहरूको दबाबका कारण बजार केही ओरालो लागे पनि मंगलबारको कारोबारमा नेप्से परिसूचक ३६.८६ अंकले वृद्धि भई २७६२.५७ बिन्दुमा पुगेको छ।
कारोबारमा आएको तीव्र सुधारले लगानीकर्तामा नयाँ आशा थपिएको छ। शेयर विश्लेषकहरूका अनुसार बजार सधैं एउटै दिशामा नचल्ने भएकाले सोमबारको घटावटलाई सामान्य करेक्सन मानिएको हो।
विशेषतः आगामी आर्थिक वर्षको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक मनोविज्ञान ल्याएको विश्लेषकहरूको ठम्याइ छ। नीतिले पूँजी बजारमैत्री धारणा प्रस्तुत गर्दै ब्याजदर सस्तो बनाउने, लगानीको पहुँच बढाउने, शेयर धितो कर्जाको सीमा बढाउने र लघुवित्त कम्पनीहरूमाथिको लाभांश वितरणसम्बन्धी प्रतिबन्ध हटाउनेजस्ता निर्णय लिएको छ।
आजको कारोबारमा ३१७ कम्पनीका २ करोड ६५ लाख १७ हजार कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ पुगेको छ।
उपसमूहगत सूचकमा पनि हरियाली छाएको छ। बैंकिङ समूह १.९२ प्रतिशत, विकास बैंक समूह १.५९ प्रतिशत, फाइनान्स समूह १.८२ प्रतिशत, होटल तथा पर्यटन समूह १.१५ प्रतिशत, हाइड्रोपावर समूह १.६७ प्रतिशतले उकालो लागेको छ। अन्य समूहमा पनि उल्लेखनीय वृद्धि देखिएको छ।

