काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट (एमएमए) खेलाडी रवीन्द्र ढाटले ऐतिहासिक सफलता हासिल गरेका छन्। शनिबार राति भारतको दिल्लीमा सम्पन्न म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा उनले भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका हुन्। यससँगै उनी एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन्।
‘दि इन्डियन राइनो’ उपनामले परिचित शक्तिशाली फाइटर कोरेनले सुरुवातदेखि नै आक्रामक शैली अपनाउँदै दबाब सिर्जना गर्ने प्रयास गरे। तर रवीन्द्र ढाटले अत्यन्त संयमित र रणनीतिक जवाफ दिए। फाइटको मोड तेस्रो राउण्डमा बद्लियो, जब रवीन्द्रले तीव्र प्रहारहरू गर्दै कोरेनलाई संकटमा पार्न थाले। निर्णायक कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोके र रवीन्द्रलाई टेक्निकल नक्कआउट (TKO) मार्फत विजेता घोषित गरे।
यो जितसँगै रवीन्द्रको प्रोफेशनल एमएमए रेकर्ड ८ जीत र १ हारमा पुगेको छ। उनले कोरेनको पाँच खेलको अपराजित यात्रालाई पनि यहीं अन्त्य गरेका छन्। विजयी क्षणमा रंगशाला नेपाली समर्थकहरूको उत्साहले भरिएको थियो, र रवीन्द्रले पिजरमाथि गर्वका साथ नेपाली झन्डा फहराएका थिए।

