दोलखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकपटक नयाँ विद्रोह आवश्यक रहेको बताएका छन्।
दोलखाको ‘बोत्ले हत्याकाण्ड’ स्मृति सभामा सम्बोधन गर्दै प्रचण्डले आफू नेतृत्वको भूमिकामा रहँदै जनयुद्धदेखि शान्ति प्रक्रिया, संविधान निर्माणसम्म आइपुग्दा पनि मुलुकमा अझै गहिरो रूपान्तरण नआएकाले नयाँ खालको क्रान्तिको तयारी गरिरहेको खुलासा गरे।
“हामी बल गर्दैछौं। एकताबद्ध भएर प्रतिक्रियावादीहरूको षड्यन्त्रको प्रतिरोध गरिरहेका छौं। हाम्रो वर्गसँग फेरि जोडिन बल गरिरहेका छौं,” प्रचण्डले भने। उनले थपे, “म जनयुद्धको तयारी, त्यसको नेतृत्व, शान्ति सम्झौता र संविधान सभामार्फत यहाँसम्म आइपुगेको व्यक्ति हुँ। अहिले फेरि क्रान्तिको आवश्यकता महसुस गरेको छु। त्यसका लागि संकल्पसाथ अघि बढिरहेको छु।”
कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादी शक्तिहरूलाई नयाँ विद्रोहबाट परास्त गर्नुपर्ने आवश्यकता औंल्याउँदै आफूले यही प्रतिबद्धता लिएको स्पष्ट पारे।
२०५९ साउन १८ गते दोलखाको साबिक काटाकुटी गाविस–१ स्थित बोत्लेमा सुरक्षाफौजको कारबाहीमा परी १५ जना माओवादी कार्यकर्ताको ज्यान गएको घटनालाई माओवादी केन्द्रले ‘बोत्ले हत्याकाण्ड’को रूपमा स्मरण गर्दै आएको छ।
प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। कतिपयले यसलाई क्रान्तिको नाममा जनभावनालाई उचाल्ने प्रयास भनेका छन् भने समर्थकहरूले यो परिवर्तनप्रतिको निरन्तरता भएको दाबी गरेका छन्।

