२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • 'जनयुद्ध' जस्तै समाजवादी क्रान्तिको तयारीमा छु...

'जनयुद्ध' जस्तै समाजवादी क्रान्तिको तयारीमा छु : अध्यक्ष दाहाल

'जनयुद्ध' जस्तै समाजवादी क्रान्तिको तयारीमा छु : अध्यक्ष दाहाल

शनिवार, भाद्र १ २०८११०:१२
शनिवार, भाद्र १ २०८११०:१२
  • images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र युद्धजस्तै समाजवादी क्रान्तिको तयारीमा लागेको बताएका छन् । उनले पार्टीभित्रको अन्तरसंघर्षलाई व्यवस्थित गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने दाबी गरे । 

    शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले माओवादीले ‘जनयुद्ध’ सुरु गर्दा पार्टीभित्र नेतृत्व, विचारको बहस गर्दै अघि बढेको स्मरण गर्दै पछिल्लो समय पार्टीको अन्तरसंघर्षलाई समाधान गरी समाजवादी क्रान्तिको बाटोमा अघि बढ्ने बताए ।
    उनले स्थायी समितिमा आफू र उपमहासचिव जनार्दन शर्माबीच भएका आशंका समाधान भएको दाबी गर्दै शर्माले पार्टी विभाजन गर्ने भ्रमको अन्त्य भइसकेको बताए । आफू र शर्माबीच विवाद हुनुलाई ‘अगुल्टो ठोसेर आगो बाल्ने’ नीतिको रुपमा लिन कार्यकर्तालाई आग्रह गरे ।

    ‘मेरो र प्रभाकर (शर्मा) बीच बेलाबेला अगुल्टो ठोसिएझैँ हुने गरेकै छ । यो आगो बाल्नु, खाना पकाउनका लागि भएको छ,’ उनले भने, ‘मेरो अघि हुँदा मलाई महान् नेतृत्व भन्ने, बाहिर गएपछि धारे हात लगाउने प्रवृत्ति बढेको छ । यसपटक प्रभाकरजीको मनको कुरा बाहिर आओस् भन्ने थियो । मैले प्रभाकरले पार्टी फुटाउँदैछ भनेको होइन ।’

    उनले शर्माले पार्टी निर्माणका लागि राखेका नेतृत्व हस्तान्तरण, पार्टीको नाम र चुनाव चिहृन परिवर्तनलगायत विषय केन्द्रीय समितिमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा उल्लेख गर्ने बताए । ‘दस्तावेज बनाउँदै गर्दा प्रभाकरले उठाएका मत आत्मसाथ गर्ने स्थायी समितिबाट स्वीकृत भएको छ,’ उनले यो बीचमा दुई नेताबीच गम्भीर आशंका भए पनि निराकरण भएको दाबी गर्दै भने, ‘हामीबीच केही गम्भीर आशंका थिए । केही कुरा अध्यक्ष र प्रभाकरले सँगै बसेर अध्ययन/अनुसन्धान गर्ने भन्ने भयो । जरुरी परे पार्टी केन्द्रबाट टीम बनाएर त्यस आशंका निराकरण गर्ने निर्णय भएपछि जे भ्रम थिए, मूलभूत रुपमा चिरिएको छ ।’


    उनले आफ्नो सरकारका बेला सुशासन, भ्रष्टाचार नियन्त्रण, सरकारी जग्गा फिर्ता गर्ने प्रयास समाजवादी क्रान्तिको आधार निर्माणका लागि गरेको बताए । उनले फेरि समाजवादी क्रान्तिका लागि आवश्यक तयारीमा लाग्नुपर्ने बताए । ‘हामी जनताको बीचमा गएर नयाँ क्रान्तिको तयारीको संकल्प गर्नुपर्ने बेला छ । ढिलो वा छिटो नेपालमा ठूलो रेडिकल मुभमेन्ट हुन्छ । गुणात्मक आन्दोलन हुन्छ,’ उनले भने । उनले आफूले चुनवाङ बैठकमा गणतन्त्रका लागि ठूलो क्रान्ति हुने गरेको स्मरण गर्दै अब समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्ने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend