काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रक्रिया अघि बढाउन संघीय स्तरका सबै निकायलाई परिपत्र गरेको छ ।
बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै उक्त परिपत्र गरेको हो । निजामती सेवा ऐन, २०४९ को दफा १८ र नियमावली, २०५० को नियम ३६ अनुसार भदौ महिनाभित्र सरुवा प्रक्रिया सम्पन्न गर्नु पर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै मन्त्रालयले यस वर्षको सरुवा प्रक्रिया व्यवस्थित र समयमै सम्पन्न गर्न आवश्यक कार्यसूची सार्वजनिक गरेको हो।
सरुवा व्यवस्थापन पारदर्शी, समयबद्ध र कार्यसक्षम बनाउन मन्त्रालयले समयमै तयारी गर्न आह्वान गर्दै यस प्रक्रियामा ढिलाइ नगर्न विशेष आग्रह गरेको छ।
कर्मचारी सरुवालाई प्रणालीगत बनाउँदै सेवा अनुभव विस्तार गर्ने उद्देश्यसहित अघि बढाइएको यस प्रक्रिया अन्तर्गत सरुवा चाहने निजामती कर्मचारी र सम्बन्धित कार्यालयहरूले समयसीमा भित्र सबै आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। सरुवा व्यवस्थापनलाई अझ पारदर्शी बनाउन मन्त्रालयले डिजिटल प्रणालीमा आधारित विवरण अद्यावधिक र समन्वयमा विशेष जोड दिएको छ।
सरुवा चाहने कर्मचारीले निवेदन दिनुपर्ने, निजामती सेवामा कार्यरत र सरुवा हुन चाहने कर्मचारीले आफ्नो व्यक्तिगत विवरण राष्ट्रिय कितावखानमा अद्यावधिक गरी २०८२ साउन मसान्तभित्र मन्त्रालयको इमेल ठेगानामा नियमावलीको अनुसूची ९ अनुसारको ढाँचामा निवेदन पेश गर्न निर्देशन दिएको छ ।
यस्तै सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायले आफ्नो मातहतका निकायमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी ७ दिनभित्र अद्यावधिक गराउन भनेको छ ।

