नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेशमा नेतृत्व विवाद चर्किएको छ। संगठनको केन्द्रीय नेतृत्वको निर्णयविरुद्ध बागलुङमा एक समूहले भेला गरेको छ।
अनेरास्ववियु गण्डकीका अध्यक्ष प्रवीण श्रेष्ठले यसअघि सचिव सुरज सापकोटालाई प्रदेश संयोजक तोकेका थिए। तर, केन्द्रले प्रदेश अध्यक्षको यो निर्णय बदर गर्दै उपाध्यक्ष सुसन घिमिरेलाई संयोजक र सापकोटासहित अर्का उपाध्यक्ष विश्वदर्शन पराजुलीलाई सहसंयोजक बनाएर नयाँ सर्कुलर जारी गरेको थियो।
केन्द्रको यही निर्णयमा असन्तुष्टि जनाउँदै सापकोटाको नेतृत्वमा आइतबार बागलुङमा भेला भएको हो। उक्त भेलामा गण्डकीका ११ मध्ये ८ जिल्लाका अध्यक्ष र ७ जना केन्द्रीय सदस्यको समर्थन रहेको सापकोटाको दाबी छ। भेलाले केन्द्रको निर्णयमा पुनर्विचार गर्न माग गर्ने निर्णय गरेको उनले बताए।
यता, प्रदेश संयोजक सुसन घिमिरेले भने यो भेलालाई आधिकारिक नभएको टिप्पणी गरेका छन्। उनले केन्द्रको सर्कुलर नै आधिकारिक हुने र त्यसबाहेकका कुनै पनि भेला अनुशासनविपरीत हुने बताए। उनले यो भेला संगठनभन्दा बाहिरका व्यक्तिहरूको जोडबलमा भएको आरोप लगाएका छन्।

