काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ लमजुङमा पनि मनाईएको छ । सदरमुकाम बेसीशहरमा एक वर्ष भित्र दिवंगत भएका एक परिवारले गाइजात्रा निकालेर बेसीशहर बजार परिक्रममा गरेका छन् ।
लमजुङ सदरमुकाम बेसीशहरमा बाजागाजा सहित निकालिएको गाईजात्राको साथमा टाकटुके नाच, देविदेवताका स्वरुप सिगांरेर राम सीता समेत बनाइको छ । यसवर्ष मस्र्याङ्दी नेवा समाजमा आवद्ध बेसीशहर ७ क्याम्पसरोड निवासी स्वर्गिय शिवलाल श्रेष्ठको सम्झनामा गाइजात्रा निकालीएको मस्र्याङ्दी नेवा समाज बेसीशहरका अध्यक्ष एवं नेवा देय दवु गण्डकी प्रदेश समितिका सदस्य रामकुमार श्रेष्ठले बताए ।
बेसीशहर सहित जिल्लाका मुख्य बजार क्षेत्र, उदिपूर, भोटेओडार, सुन्दरबजार, भोर्लेटार राइनास खुँदी, चिति लगायतका क्षेत्रमा पनि आइतबार गाइजात्रा पर्व धुमधामका साथ मनाइएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगा गरी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहि आएको नेवा देय दवु बेसीशहरका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हांस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

