काठमाडौँ । गण्डकी प्रदेश सरकार अन्तर्गत सञ्चालनमा रहेका सम्पूर्ण अस्पतालहरूमध्ये लमजुङ जिल्लाको प्रदेश अस्पताल, बेसीशहर आर्थिक वर्ष २०८१/८२ मा समेत सबैभन्दा बढी सेवाग्राहीले सेवा लिएको अस्पताल बनेको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्क विश्लेषण गर्दा, उक्त अस्पतालले लगातार शीर्ष स्थान कायम राख्न सफल भएको हो ।
अस्पतालमा गत आर्थिक बर्ष २०८१/८२ मा एक लाख १३ हजार आठ सय ३७ जना विरामीले सेवा लिएको अस्पतालले जनाएको छ । त्यसैगरी आर्थिक बर्ष २०८०/८१ मा एक लाख १३ हजार चार सय ५९ जना र आर्थिक बर्ष २०७९/८० मा एक लाख सात हजार नौ सय ८३ जनाले सेवा लिएका थिए ।
प्रदेशभरका प्रदेश अस्तालमा बढी सेवा ग्राही आउने अस्पतालमा मध्य दोस्रोमा प्रेदश अस्पताल गोरखा रहेको छ । गोरखामा आर्थिक वर्ष २०८१/८२ एक लाख १३ हजार चार सय ५९ र तेस्रोमा प्रद्रेश अस्पताल तनहुँमा एक लाख सात हजार दुई सय १२ जनाले सेवा लिएका थिए ।
लमजुङको प्रदेश अस्पतालले यति ठूलो संख्यामा जनताको सेवा गर्न सफल हुनुको पछाडि दक्ष चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक तथा अन्य कर्मचारीहरूको योगदान रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार, नियमित सुधार, सेवा विस्तार, आकस्मिक सेवा व्यवस्थापन, मातृ–शिशु तथा विशेषज्ञ सेवाको गुणस्तरीय पहुँचले सेवाग्राहीको विश्वास जित्न सहयोग गरेको अस्पतालले जनाएको छ ।
प्रदेश अस्पताल लमजुङले दिनप्रतिदिन आफ्नो सेवाहरू विस्तार गर्दै लगेकाले जिल्ला भित्र र छिमेकी जिल्ला मनाङ, गोरखा र तनहुँका केही भागका बिरामीहरू समेत उपचारका लागि आउने गरेका छन् । गत वर्षदेखि मिर्गौलाका बिरामीलाई डायलासिस सेवा उपलब्ध गराउँदैआएको अस्पतालले एक वर्षको अवधिमा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा, इन्डोस्कोपी सेवा लगायतका सेवा थप गर्दै आएको छ ।
पछिल्लो समय दूरबिनबाट शल्यक्रिया गर्ने सेवा पनि थप गरेको अस्पताल प्रमुख मेसु शिशिर देवकोटाले बताए । धेरै सेवाहरू जिल्ला अस्पतालमा नै पाउन थालेपछि दैनिक चार सयदेखि पाँच सयको हाराहारीमा बिरामीहरू उपचारका लागि आउने गरेको देवकोटाले बताए । अस्पतालमा बालरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, छालारोग विषेशज्ञ लगायत विभिन्न एक दजर्नभन्दा बढी विषेशज्ञ डाक्टरहरू रहेका छन् ।
प्रदेश अस्पतालले नयाँ उपकरण तथा सेवा प्रणालीसमेत थपेको छ, जसमा डिजिटल एक्सरे, प्रयोगशाला विस्तार, दुरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया गरी पत्थरी निकाल्ने उपचार सेवा मातृ–शिशु मित्र सेवा लगायतका कार्यक्रमहरू छन् । नागरिकका लागि सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु अस्पतालको प्रमुख उद्देश्य रहेको अस्पतालका प्रमुख डा.शिशिर देवकोटाले बताए ।

