काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्।
मंगलबार अमेरिका पुगेका डा. कोइरालाले सामाजिक सञ्जाल एक्समार्फत राजीनामा पत्र सार्वजनिक गर्दै आगामी असोज ३० गतेदेखि लागू हुने गरी पदबाट मुक्त हुने घोषणा गरेका छन्।
डा. कोइराला शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २५ वर्षदेखि कार्यरत थिए। उनले राजीनामा पत्रमा लेखेका छन्, “हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु।”
डा. कोइरालाले अमेरिका पुगेको फोटोसहित सामाजिक सञ्जालमा लेखेका छन्, “देश, पेशा, जीवन र भूमिका: अब सब फरक।”
उनी हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्तिका लागि आवेदन दिएका थिए। सर्टलिस्टमा परेका कोइराला र बिक्रम श्रेष्ठमध्ये कांग्रेस संस्थापनले श्रेष्ठलाई रोजेपछि उनले उक्त पद पाएका छैनन्। श्रेष्ठको नियुक्ति भएको दोस्रो दिन बुधवार डा. कोइरालाले आफ्नो राजीनामा पेश गरेका हुन्।

