काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको तयारीस्वरूप नेपालले अस्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट सिरिजमा आज (साउन ३०) पहिलो खेल खेल्दै छ। नेपाली समयअनुसार दिउँसो २ः१५ बजे डार्विनमा हुने खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकर्ससँग भिड्नेछ।
यसपछि नेपालले भोलि (अगस्ट १६) बंगलादेश ‘ए’ टोलीसँग, अगस्ट १८ मा मेलबर्न स्टार एकेडेमी टिमसँग, अगस्ट १९ मा होबार्ट हरिकेन्स एकेडेमी टिमसँग, अगस्ट २० मा मेलबर्न रेनेगेट्स एकेडेमी टिमसँग र अगस्ट २२ मा पाकिस्तान ‘ए’ टोलीसँग समूह चरणको खेल खेल्नेछ। शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने सेमिफाइनल र फाइनल खेल अगस्ट २४ मा हुनेछ।
११ टोली सहभागी सिरिजमा नेपाल, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’, अमेरिकाको माइनर लिग विजेता सिकागो किङ्सम्यान, बिग बास लिगका विभिन्न एकेडेमी टोली (होबार्ट हरिकेन्स, पर्थ स्कोचर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार, मेलबर्न रेनेगेट्स) र दुई स्थानीय टोली छन्।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, आरिफ शेख, भीम सार्की, रुपेशकुमार सिंह, सोमपाल कामी, नन्दनकुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र साहब आलम छन्।
यो सिरिजपछि नेपालले अस्ट्रेलियामै ‘प्रिपरेसन सिरिज’अन्तर्गत अगस्ट २६ देखि ३० सम्म एसीटी र साउथ अस्ट्रेलियाविरुद्ध थप पाँच खेल खेल्नेछ, जसमा दुईवटा टी–२० र एउटा ओडीआई पनि समावेश हुनेछ।

