काठमाडौं । विषाक्त मदिरा सेवनका कारण कुवेतमा ९ जना नेपाली कामदारको मृत्यु भएको छ। अशक्त बनेका नेपालीसहित ठूलो संख्यामा आप्रवासी कामदार अस्पतालमा भर्ना भएका छन्।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार हालसम्म ९ नेपालीको ज्यान गएको पुष्टि भएको छ भने १५ जना अस्पतालमा उपचाररत छन्। “आज शुक्रबार कुवेतमा सार्वजनिक बिदा भएकाले विस्तृत विवरण पाउन ढिलाइ भएको छ। शव प्राप्त भएपछि मात्र मृतक नेपालीको पहिचान खुल्नेछ,” आचार्यले बताएका छन्। उनका अनुसार शनिबार पनि बिदा भए तापनि शव प्राप्तिका लागि निरन्तर प्रयास भइरहेको छ।
कुवेतको स्वास्थ्य मन्त्रालयले विषाक्त मदिरा सेवनका कारण विभिन्न एसियाली मुलुकका ६३ जना अस्पताल भर्ना भएको जनाएको छ। तीमध्ये धेरै जना आइसियूमा छन्। ३१ जनामा कार्डियोपल्मोनरी रिसुसिटेसन गरिएको छ भने ५१ जनाले आपतकालीन डायलासिस गराएका छन्। २१ जनाले स्थायी वा अस्थायी रूपमा दृष्टि गुमाएका छन्।
अधिकारीहरूले दूषित पेय पदार्थको स्रोत पत्ता लगाउन अस्पताल र सुरक्षा निकायबीच समन्वय भइरहेको जनाएका छन्। कुवेतमा मादक पदार्थको उत्पादन, बिक्री र उपभोग पूर्ण रूपमा निषेध भए पनि आप्रवासी समुदायमा सस्तोमा पाइने मिथानोल, एन्टिफ्रिज र घोलकजस्ता औद्योगिक रसायन मिसिएको अवैध मदिरा सेवन गर्ने प्रवृत्ति रहेको बताइएको छ।
विषाक्त मदिराले टाउको दुख्ने, बान्ता आउने, दृष्टि धमिलो हुने, हृदयाघात भई मृत्यु हुने जस्ता गम्भीर असर गर्ने गरेको स्वास्थ्य विज्ञहरूको भनाइ छ। कुवेती सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीहरूले अवैध मदिरा उत्पादन नियन्त्रणका लागि अभियान तीव्र पारेका छन्, तर ओभरस्टे भई अवैधानिक रूपमा बस्ने केही आप्रवासी यस कारोबारमा संलग्न हुने गरेको पाइएको छ।

