काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले लुम्बिनी प्रदेश क्रिकेट संघका निवर्तमान अध्यक्ष सञ्जय गुरुङलाई कुनै पनि क्रिकेट गतिविधिमा संलग्न नगर्न निर्देशन दिएको छ।
क्यानका महाप्रबन्धक उत्सव ढुङ्गानाले लुम्बिनी प्रदेश क्रिकेट संघलाई पठाएको पत्र अनुसार, गुरुङले संघविरुद्ध मुद्दा दायर गर्नुका साथै संघ अध्यक्षविरुद्ध नकारात्मक टिप्पणी र मिथ्या आरोप लगाएका कारण २०८२।४।१५ गतेको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई अम्पायरिङ र अन्य क्रिकेट गतिविधिमा संलग्न नगर्न निर्णय गरेको हो।
यस निर्णयले गुरुङको रुपन्देही क्रिकेट संघ सचिव पद पनि निलम्बित भएको छ। गत जेठ ३ मा कपिलवस्तुको तौलिहवामा भएको विशेष साधारणसभाबाट गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित भइसकेको थियो।
गुरुङले यस निर्णयविरुद्ध उच्च अदालत तुलसीपुरमा रिट निवेदन दर्ता गरेका थिए, तर साउन २१ मा इजलासले रिट खारेज गर्दै विशेष साधारणसभाको निर्णय वैध रहेको पुष्टि गरेको थियो।
अब लुम्बिनी प्रदेश क्रिकेट संघले नयाँ अध्यक्ष चयनका लागि अर्को साधारण सभा बोलाउन सक्ने अवसर खुलिएको छ।

