विराटनगर: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली र उनीबीचको बढ्दो राजनीतिक दूरीलाई सार्वजनिक गर्दै पत्रकारहरूलाई ओलीलाई सोध्नका लागि दुईवटा महत्वपूर्ण प्रश्न सुझाइदिएकी छन्। विराटनगरको एक होटलमा भेटघाटको क्रममा उनले आफू अब ओलीलाई यी विषयमा प्रश्न सोध्ने पक्षमा नरहेको भन्दै पत्रकारहरूलाई नै यो जिम्मेवारी दिएकी हुन्।
भण्डारीले पत्रकारहरूलाई ओलीलाई सोध्न आग्रह गरेको पहिलो प्रश्न मदन भण्डारीको जन्मजयन्तीमा प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिको विषयमा छ। उनले भनिन्, "तपाईंहरूको उहाँसँग भेट भइहाल्छ। त्यसेबला सोध्नुहोला, 'सर, तपाईंले मदन भण्डारी, जसलाई पार्टीले जननेता मान्छ, आफ्नो गौरव ठान्छ, उहाँको निधनको ३२ वर्षपछि असार १४ मा किन त्यस्तो भन्नुभयो?'" उनले थपिन्, "म चाहिँ उहाँलाई यसबारे सोध्दिनँ। डर लाग्दैन भने तपाईंहरूले सोध्नुहोला।"
दोस्रो प्रश्न मदन भण्डारी फाउण्डेसनसँग सम्बन्धित छ। उनले फाउन्डेसनप्रति ओलीको असन्तुष्टिबारे कुरा गर्दै पत्रकारहरूलाई सोध्न भनिन्, "'कुनै बेला यही फाउन्डेसनले तपाईंलाई चौतारी दिएको हो कि होइन? त्यतिबेला कसैले फाउन्डेसनलाई कर्के नजर लगायो भने त्यसको आँखा फुटाइदिन्छु भन्ने तपाईंले आज किन फाउण्डेसनलाई त्यसो भन्नुभयो?'"
विराटनगरको यो भ्रमणमा पूर्वराष्ट्रपति भण्डारीले आफ्नो राजनीतिक जीवनको सुरुवात यसै सहरबाट भएको बताउँदै यहाँको विकासप्रति चिन्ता पनि व्यक्त गरिन्। उनले मदन भण्डारीको हीरक जन्मजयन्ती मनाउन बनेको समितिको संरक्षकको रूपमा आफू रहने र नियमित रूपमा कार्यालय जाने जानकारी दिँदै सक्रिय राजनीतिमा फर्कने संकेत पनि गरेकी छन्। यसका साथै, पार्टी केन्द्रीय कमिटीले नवीकरण रोकेको भनिए पनि उनले आफूले सदस्यता नवीकरण गरेको दोहोर्याइन्, जसलाई पार्टी कार्यालयमा उपस्थित कार्यकर्ताहरूले ताली बजाएर समर्थन गरेका थिए।

