२०८३, आश्विन २० गते

images

टप एण्ड टी–२० सिरिज : नेपाल दोस्रो जितसँगै सेमिफाइनल दौडमा

टप एण्ड टी–२० सिरिज : नेपाल दोस्रो जितसँगै सेमिफाइनल दौडमा

बुधवार, भाद्र ४ २०८२०२:५३
बुधवार, भाद्र ४ २०८२०२:५३
  • images

    काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले दोस्रो जित निकाल्दै सेमिफाइनल दौडलाई जीवन्त पारेको छ।

    बुधबार भएको पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्‍यो। नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमै अलआउट भयो। रेनेगेड्सका अर्जुन नायरले २६, जे लेमिरले १८ र ह्यारी डिक्सनले १६ रन बनाए।

    नेपालका लागि सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिँदा रुपेश सिंह, कप्तान दिपेन्द्रसिंह ऐरी र साहब आलमले १–१ विकेट लिए।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनको योगफल बनाएको थियो। कुशल मल्लले २२ बलमा १ चौका र १ छक्कासहित २९ रन, कप्तान ऐरीले २७ रन र लोकेश बमले १६ बलमा २४ रन जोडे। भीम सार्कीले १७, आरिफ शेख र रुपेश सिंहले समान १२ रन बनाए।

    रेनेगेड्सका फर्गस ओ’निल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान २–२ विकेट लिए।

    आजको खेलमा नेपालले ठूलो परिवर्तन गरेको थियो। लगातार खराब फर्ममा रहेका नियमित कप्तान रोहितकुमार पौडेल र ओपनर आशिफ शेखलाई बेन्चमा राखिएको थियो। लेग स्पिनर सन्दीप लामिछाने पनि प्लेइङ ११ बाहिर रहे।

    उनको सट्टा गुश्लन झा, रुपेशकुमार सिंह, सोमपाल कामी र साहब आलमलाई टोलीमा राखिएको थियो।

    सिरिजमा शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने व्यवस्था छ। नेपालले अब शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend