काठमाडौं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको पुनः स्पष्ट पारेको छ। मन्त्रालयले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार र सीमा व्यापारजस्ता कुनै पनि गतिविधि नगर्न आग्रह गरेको बताएको छ।
नेपाली भूमि लिपुलेक हुँदै भारत–चीनबीच सीमा व्यापारका विषयमा मिडियाबाट सोधिएका प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्रालयले जारी गरेको ३ बुँदे विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ।”
दोस्रो बुँदामा मन्त्रालयले नेपाल–भारत सम्बन्धको मर्मअनुसार सडक निर्माण, विस्तार वा सीमा व्यापार जस्ता कुनै पनि क्रियाकलाप नगर्न भारतसँग आग्रह गरिसकेको र सो विषय मित्र राष्ट्र चीनलाई समेत जानकारी गराइसकेको उल्लेख गरेको छ।
तेस्रो बुँदामा भने नेपाल–भारतबीच ऐतिहासिक सन्धि, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने नेपाल सरकारको प्रतिबद्धता दोहोर्याइएको छ।

