काठमाडौँ । बिहीबार दिउँसो प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलेली सांसद्ले राखेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ मा सांसदले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने व्यवस्था छ ।
बुधबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
त्यसैगरी आजको बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।
त्यस्तै सांसद डा.तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची पनि छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछन् । यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधनं विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूची तय भएको छ ।

