काठमाडौं । वर्ष दिनको अवधिमा २० वाणिज्य बैंकहरुले शेयर बजारबाट ९ अर्ब ३८ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५३.६ प्रतिशतले वृद्धि हो।
गत आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै आम्दानी गर्ने बैंक ग्लोबल आइएमई बैंक रहेको छ। यस बैंकले शेयर बजारबाट ९१ करोड ६८ लाख रुपैयाँ आम्दानी आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५७.८५ प्रतिशतले बढी हो। दोस्रो स्थानमा नबिल बैंक रहेर यसले ७६ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ।
सरकारी बैंकहरुमा पुँजी बजारबाट आम्दानीको वृद्धि उल्लेखनीय देखिएको छ। कृषि विकास बैंकको आम्दानी ८८७.१७ प्रतिशतले बढेर ५७ करोड ८४ लाख पुगेको छ। साथै, राष्ट्रिय वाणिज्य बैंकको आम्दानी १५३.९७ प्रतिशतले, नेपाल बैंकको ७८.२० प्रतिशतले वृद्धि भएको छ।
अन्य निजी बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक ७६ करोड ६० लाख, स्टान्डर्ड चार्टड बैंक ७२ करोड १० लाख, हिमालयन बैंक ६३ करोड २५ लाख, सानिमा बैंक ५९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेका छन्।
यसैगरी, प्रभु बैंक ५४ करोड २६ लाख, एभरेष्ट बैंक ४९ करोड ९३ लाख, सिद्धार्थ बैंक ४२ करोड ४१ लाख, कुमारी बैंक ४० करोड ९३ लाख, एनएमबि बैंक ३६ करोड ५ लाख, माछापुच्छ्रे बैंक ३३ करोड २१ लाख, सिटिजन्स बैंक ३० करोड २७ लाख, नेपाल एसबिआई बैंक २८ करोड ८ लाख, प्राइम बैंक २४ करोड ३ लाख, र एनआईसी एशिया बैंक १६ करोड २७ लाख रुपैयाँ आम्दानी गरेका छन्।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको शेयर बिक्रीसम्बन्धी नियम परिमार्जन गरेपछि बैंकहरुको लगानी आम्दानीमा उल्लेखनीय सुधार आएको छ। नयाँ प्रावधानअनुसार, बैंकहरुले एक वर्ष पूरा भइसकेको लगानीको २० प्रतिशतसम्म शेयर बिक्री गर्न सक्ने सुविधा पाएका छन्। यसअघि यो सीमा मात्र १ प्रतिशत थियो।

