काठमाडौं । नेपाली कांग्रेसले सांसद दिलेन्द्रप्रसाद बडूलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने तयारी थालेको छ। समितिका वर्तमान सदस्यसमेत रहेका बडूलाई सभापतिमा अघि सार्ने विषयमा कांग्रेसभित्र गम्भीर आन्तरिक छलफल भइरहेको कांग्रेस स्रोतले जनाएको छ।
यसैक्रममा सभापति शेरबहादुर देउवाले सोमबार बिहान स्थगित गरिएको पार्टी बैठक फेरि बोलाएका छन्। बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई समावेश गरिएको छ।
संसद सचिवालयले राज्य व्यवस्था समितिको सभापति चयनका लागि भदौ ११ गतेको मिति तोकेपछि देउवाले शीर्ष नेताहरूको आकस्मिक बैठक बोलाएका हुन्। कांग्रेस स्रोतका अनुसार, "बिहान रोकिएको बैठक सभापतिले फेरि डाक्नुभएको हो, छोटो समयमै निर्णय टुंगो लगाउने तयारी छ।"
सभापति पदका लागि कांग्रेसभित्रबाट चार सांसद आकांक्षी देखिएका छन् — दिलेन्द्रप्रसाद बडू, अम्बिका बस्नेत, सरिता प्रसाईं, र हृदयराम थानी। तर अन्तिम निर्णय बडूको पक्षमा जान सक्ने देखिएको छ।
राज्य व्यवस्था समितिमा कांग्रेसका सदस्यहरू यस प्रकार छन्: पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, दिलेन्द्र बडू, सरिता प्रसाईं, हृदयराम थानी, ईश्वरीदेवी न्यौपाने, रामहरि खतिवडा, र अम्बिका बस्नेत।
यसअघि साउन २८ गते रामहरि खतिवडाले सभापति पदबाट राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो। उनी कुलिङ पिरियडसम्बन्धी विवादमा मुछिएपछि पदबाट हटेका थिए।

