काठमाडौं । नेपालमा पहिलोपटक हरित हाइड्रोजन उत्पादनमा विदेशी लगानी आउने भएको छ। दक्षिण कोरियाली कम्पनी जी-फिलोस कोअपरेटिभ लिमिटेडले करिब ५० करोड अमेरिकी डलर (सात अर्ब रुपैयाँभन्दा बढी) लगानी गर्दै नेपालमा हरित हाइड्रोजन उत्पादन र फ्युल सेल प्लान्ट स्थापना गर्ने प्रस्ताव अघि बढाएको छ।
लगानी बोर्ड नेपाल र कोरियाली कम्पनीबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर हुनेछ। कम्पनीले पाइलट परियोजनाको रूपमा २० मेगावाट क्षमताबाट हाइड्रोजन उत्पादन सुरु गर्ने योजना बनाएको छ। प्लान्ट स्थापना गर्ने स्थान भने अहिलेसम्म टुंगो लागेको छैन।
जलविद्युतको अधिक विद्युत उपयोग गरी इलेक्ट्रोलाइसिस प्रविधिमार्फत पानीलाई विभाजन गरेर हरित हाइड्रोजन उत्पादन गरिनेछ। उत्पादित हाइड्रोजन स्टिल उद्योग, रासायनिक मल उत्पादन, अमोनियम नाइट्रेट निर्माण र ऊर्जा भण्डारणमा प्रयोग गरिनेछ। साथै, छिमेकी भारत र चीनमा निर्यात गर्ने सम्भावनालाई पनि प्राथमिकतामा राखिएको छ।
नेपालले २०५० भित्र शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य लिएको अवस्थामा यो परियोजनाले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।सरकारले गत वर्ष हरित हाइड्रोजन उत्पादन, प्रयोग र विकासका लागि नीति २०८० जारी गरिसकेको छ भने काठमाडौं विश्वविद्यालयले पनि नेपालमै पहिलो पटक हाइड्रोजन कार परीक्षण गरी प्राविधिक सम्भाव्यता देखाइसकेको छ।

