काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको पाँच दिने चीन भ्रमणलाई स्वीकृति दिएको हो ।
बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा उठाउने एजेण्डा र नियमित कार्यसूचीबारे छलफल भएको एक मन्त्रीले बताए। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्नेछन्।
उनले तियानजिनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् भने भदौ १६ गते हुने शंघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले जापानविरुद्धको युद्धमा चीनले जित हासिल गरेको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा समेत सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसद पूर्ण बहादुर खड्का र छविलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा सहित उच्चपदस्थ सरकारी टोली चीन भ्रमणमा सहभागी हुनेछन्।
प्रधानमन्त्री ओलीको टोली भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

