काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलोपटक कुनै पूर्ण सदस्य राष्ट्र वेस्ट इन्डिजविरुद्ध द्विपक्षीय टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न युएई प्रस्थान गर्दैछ। शारजाह क्रिकेट स्टेडियममा भदौ २७ देखि ३० गते (सेप्टेम्बर २७–३०) सम्म तीन खेलको शृंखला आयोजना हुँदैछ, जुन नेपाली क्रिकेटको इतिहासमै पहिलोपटक “Full member” राष्ट्रसँगको द्विपक्षीय टी–२० शृंखला हो। यस शृंखलामा नेपालले दुई ऐतिहासिक रेकर्ड बनाउने अवसर पाएको छ ,पहिलो, पूर्ण सदस्य राष्ट्रलाई पराजित गर्ने, र दोस्रो, त्यस्ता राष्ट्रविरुद्धको शृंखला जित्ने।
नेपालले अहिलेसम्म आठ पटक पूर्ण सदस्य राष्ट्रहरूसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ, तर सबैमा पराजित भएको छ। भारत, बंगलादेश, आयरल्यान्ड, जिम्बाब्वे, दक्षिण अफ्रिकालगायत टोलीविरुद्ध खेलेको नेपालले खासगरी सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएर इतिहास बनाउन चुकेको थियो।
अब भने वेस्ट इन्डिजसँगको यो शृंखला नेपालका लागि ठूलो अवसरको रूपमा आएको छ, किनभने वेस्ट इन्डिजले धेरैजसो शीर्ष खेलाडीलाई विश्राम दिँदै युवा खेलाडीहरूसहितको टोली घोषणा गरेको छ।
नेपाली टोलीको लय मिश्रित देखिए पनि पछिल्ला केही शृंखलामा प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै आएको छ। हङकङमा भएको चारदेशीय शृंखलामा नेपाल समूह चरणमा अपराजित रहँदै फाइनलमा पुगेको थियो, जहाँ कुवेतसँग ३ रनले हार बेहोरेको थियो। त्यसपछि स्कटल्याण्डमा भएको शृंखलामा नेपालले दुई खेल जितेको थियो भने एक खेल सुपर ओभरमा हारको रूपमा गनियो। २०२५ मा नेपालले खेलेका ८ टी–२० खेलमध्ये ४ मा जित, २ मा हार र २ खेल नतिजाविहीन रहनु नेपालको सन्तुलित लयको संकेत हो।
उता वेस्ट इन्डिजको लय कमजोर छ। सन् २०२५ मा खेलेका १२ टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये उसले केवल २ मा मात्र जित निकालेको छ। इंग्ल्याण्ड, अष्ट्रेलिया र पाकिस्तानसँगको शृंखलामा उसले लगातार हार बेहोरेको छ। यस्तो अवस्थामा नेपालका लागि जित निकाल्ने सम्भावना पहिलेभन्दा धेरै बलियो देखिन्छ।
नेपाली कप्तान रोहित कुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, स्पिनर सन्दीप लामिछाने, युवा बलर गुल्शन झा, तथा टिममा फर्किएका आदिल अन्सारी र सन्दीप जोरा सबै यस शृंखलालाई ऐतिहासिक अवसरका रूपमा लिइरहेका छन्। कप्तान रोहितले अस्ट्रेलियामा प्राप्त अनुभव सदुपयोग गर्दै यो शृंखलामा टिमले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले पनि यो शृंखलालाई नेपाली क्रिकेटको मोड बिन्दुको रूपमा हेर्नुपर्ने बताएका छन्।
यस शृंखलामा नेपालले वेस्ट इन्डिजलाई हराउन सफल भएमा, त्यो नेपाली क्रिकेट इतिहासको सबैभन्दा ठूलो उपलब्धि हुनेछ। साथै, तीन खेलमध्ये दुई जित्न सके नेपालले पूर्ण सदस्य राष्ट्रविरुद्धको पहिलो शृंखला पनि जित्नेछ। यो नेपाली क्रिकेटको आत्मविश्वास बढाउने मात्र होइन, आगामी टी–२० विश्वकप छनोटअगाडिको तयारीका हिसाबले पनि निर्णायक हुने विश्वास गरिएको छ।

