काठमाडौँ । लमजुङमा अलैंची टिप्न सुरु भएको छ । एकहजार दुईसय मिटर उचाईसम्म लगाइएका अलैंची टिप्न सुरु गरिएको हो ।
मस्र्याङ्दी गाउँपालिका–७, ताराचोक शेराका किसान किसान डम्बरसिंह अधिकारीले डम्बरसाई र जिर्मले जातको अलैंची पाकेकाले टिप्न सुरु गरिएको बताए । “यो बर्ष छिटो नै अलैंची पाक्यो, टिप्नपनि छिटो नै भयो”, अधिकारीले भने, “अब सुकाएर ग्रेडिङ गरेर बेच्छौं ।” ताराचोकका किसानले ४० रोपनी भन्दा बढी क्षेत्रफलमा अलैंची खेती गरेका छन ।
“गाउँका सबै किसानलाई अलैंची टिप्न चटारो छ”, स्थानीय इन्द्रप्रसाद तामाङले भने, “स्थानीयले खेर गइरहेको पाखोबारी र धान खेत मासेर अलैंची लगाएका छन् ।” अलैंची खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बसाइँ सरेर गएका समेत गाउँ फर्केका छन् ।
बसाइँ सरेपछि छ घरपरिवारमात्रै रहेको मस्र्याङ्दी–७ लुदी गाउँमा अहिले १९ घरपरिवार भएकाछन् । स्थानीय रामप्रसाद तामाङका अनुसार सहरबजार झरेकासमेत गाउँ फर्केर अलैंची खेती गरिरहेका छन् । लुदी गाउँभरि चारसय रोपनीमा अलैंची लगाइएको छ । तामाङकाअनुसार अलैंची खेतीका लागि लुदी अलैंची कृषक समूह गठन गरेर सामूहिक रूपमा खेती गरिँदै आएको छ । मस्र्याङ्दी–६ बाहुनडाँडाका किसान लोकनाथ घिमिरेले पनि अलैंची टिपेर सुकाइसकेको बताउनुभयो । छ रोपनी जमिनमा लगाइएको रामशाही जातको अर्लैची एकसय पचास केजी फलेको उनले बताए ।
अलैची ब्यवसायी महासंघ गण्डकीका अध्यक्ष अजय तामाङका अनुसार १२ सय मिटर भन्दा माथिल्लो भागमा लगाइएको अलैंची दशैंपछि टिप्न सुरु हुनेछ । जिल्लामा करिव १२ सय रोपनी क्षेत्रफलमा खेती गरिएको छ । सातसय ५० रोपनीमा लगाइएको अलैंचीले यसवर्ष उत्पादन दिने महासंघले जनाएको छ । विगतमा १५ सय रोपनीमा खेती गरिएपनि विभिन्न रोगका कारण अलैंची नष्ट भएको थियो । जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा सबैभन्दा धेरै चारसय हेक्टर जमिनमा खेती गरिएको छ । बेंसीसहर, दोर्दी, दुधपोखरी, क्ब्होँलासोँथर गाउँपालिकाका विभिन्न गाउँहरुमा अलैंचीको व्यावसायिक खेती गरिएको महासंघले जनाएको छ । यस वर्ष ६० मेट्रिक टन अलैंची उत्पादन हुने अनुमान गरिएको छ ।
जिल्लामा अलैंची बिक्रीबाट किसानले १६ करोड रुपियाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । यस वर्ष अलैंची उत्पादन पनि बढ्ने र मूल्यमा पनि बृद्धि भएकाले २० करोडजति आम्दानी हुनसक्ने अलैंची ब्यवसायिक महासंघ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताए ।
नेपाल अलैँची व्यवसायी महासंघकाअनुसार प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा हाल अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार ८१ हजारदेखि ९२ हजार रुपियाँसम्ममा बिक्री भइरहेको छ । सबैभन्दा राम्रो गुणस्तरको अलँैचीलाई ‘बोल्ड’ भनिन्छ । ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन ८१ हजार रहेको छ । मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन ८४ हजार रहेको महासंघले जनाएको छ ।

