काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार उपचार भइरहेको जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग समन्वय गरी प्राप्त विवरण सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, त्रिवि शिक्षण अस्पतालमा ५ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३ जना, र बी एन्ड बी अस्पतालमा ३ जना घाइते उपचाररत छन्।
त्यस्तै निजामति अस्पताल, नेपाल प्रहरी अस्पताल, कीर्तिपुर अस्पताल, विराट मेडिकल शिक्षण अस्पताल, नोबेल मेडिकल कलेज शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक–एक जना घाइते उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको विवरण अनुसार आन्दोलनका क्रममा उपचारका लागि आएका कुल २ हजार ३१६ जना घाइतेमध्ये २ हजार २३८ जना डिस्चार्ज भइसकेका छन्। अस्पतालमा आएका वा मृत्यु भएका कुल व्यक्तिको संख्या ४९ रहेको छ। यद्यपि आन्दोलनको क्रममा मृत्यु हुने संख्या ७५ पुगेको मन्त्रालयले जनाएको छ।
यसैगरी, संघीय १६ वटा अस्पतालमा १२ असोजदेखि हालसम्म जेन–जी क्लिनिकमार्फत ९ जना घाइतेले सेवा लिएका छन्। स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचारमा सबै स्वास्थ्य संस्था सक्रिय रहेको जनाएको छ।

