काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन सरकारलाई खुलेआम चुनौती दिएका छन्।
बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले भने, “तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर। केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ।” उनले सरकारको कदमलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रित गर्दै ओलीमाथि हात हाल्न खोज्नेहरूलाई चेतावनी दिए।
बस्नेतमाथि मंगलबार ‘जेनजी युवा आन्दोलन’ का केही अगुवाहरूले दमन गरेको आरोपसहित प्रहरीमा उजुरी दिएका थिए। उक्त उजुरी प्रहरीमार्फत गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको थियो। त्यसको भोलिपल्ट बस्नेतले सरकारप्रति आक्रोश पोख्दै यस्तो चुनौती दिएका हुन्।
उनले दलका नेताहरूविरुद्ध सुरु भएको सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानमाथि पनि प्रश्न उठाए। बस्नेतले युवाहरूको बलमा सत्तामा पुगेकाहरूमाथि पनि अनुसन्धान गर्नुपर्ने बताउँदै अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नाम लिएर उनीहरूमाथिबाटै सुरु गर्नुपर्ने सुझाव दिए।
“अरुलाई यत्तिकै भ्रष्टाचारी भनेर आरोप लगाउन पाइँदैन,” उनले भने, “हामी दूधले नुहाएका होइनौं, तर प्रमाण बिना आरोप लगाउनु गलत हो। महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर, होइन भने झूटो प्रचार बन्द गर।”
बस्नेतले ‘जेनजी आन्दोलन’ र त्यसपछिका घटनाक्रमबारे अध्यक्ष ओलीले पहिल्यै धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै अन्य नेताहरूले पनि चाँडै धारणा सार्वजनिक गर्ने बताए। उनले जानकारी दिँदै भने, “२४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटी बैठक छ। यो महिनाको अन्त्यसम्म एमालेले आफ्ना आधिकारिक धारणा सार्वजनिक गर्नेछ।”

