काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई छोएमा देशभर आगो बल्ने चेतावनी दिएका छन् ।
बिहीवार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बस्नेतले ओलीलाई छोए देशभर आगो बल्ने चेतावनी दिएका हुन् ।
‘केपी ओली पञ्चायतसँग र राजासँग लडेको आएको हो । अहिलेका नौटंकीले च्यालेन्ज गरेका छन्,’ बस्नेतले भने, ‘मैले हिजो पनि भनेको थिएँ, केपी ओलीलाई छोए देशभर आगो बल्ने छ ।’
एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र आफूलाई पक्राउ गर्न सरकारले योजना बनाएको भन्दै बस्नेतले एमालेसँग नजिस्किन चेतावनी दिए । बस्नेतले असोज २५ गते काठमाडौंमा युवा संघले प्रदर्शन गरेर एमालेको शक्ति देखाउने बताए ।
अहिलेको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने भए कुलमान घिसिङबाट छानबिन शुरू गर्न उनले चुनौती दिए । ‘नेपालको नम्बर वान भ्रष्टाचारी कुलमानबाट छानबिन गर्नुस्, हामी छानबिनको दायरामा आउन तयार छौं,’ बस्नेतले भने ।

